नागरिकमैत्री शासनमार्फत सहिदको सपना पूरा गर्ने महानगरको प्रतिबद्धता

नागरिकमैत्री शासनमार्फत सहिदको सपना पूरा गर्ने महानगरको प्रतिबद्धता

परिवर्तन केवल भाषण र नारामा सीमित नभई नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी देखिनुपर्नेमा आफू सचेत रहेको डंगोलले बताइन्।

  • कुराकानी

  • मङ्लबार, भदौ २३, २०८३

  • 0
    SHARES
नागरिकमैत्री शासनमार्फत सहिदको सपना पूरा गर्ने महानगरको प्रतिबद्धता

कुराकानी। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सहिदको सपना पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताएकी छन्।

जेनजी सहिद दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै डंगोलले गत वर्ष भदौ २२ र २३ गते सुशासन र भ्रष्टाचारमुक्त आचरणको मागसहित भएको आन्दोलन तथा त्यसअघिका राजनीतिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान व्यक्त गरेकी हुन्।

उनले स्वतन्त्रता, स्वाभिमान र नागरिक अधिकारका लागि १९९७ सालदेखि विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षकै जगमा अहिलेको लोकतान्त्रिक र संघीय शासन व्यवस्था स्थापित भएको बताइन्।

‘व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु,’ डंगोलले भनेकी छन्, ‘आन्दोलनका क्रममा घाइते भएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पण गर्ने योद्धा र अग्रजप्रति उच्च सम्मान व्यक्त गर्दछु।’

काठमाडौं ऐतिहासिक राजनीतिक परिवर्तनको प्रत्यक्ष साक्षी रहेको उल्लेख गर्दै उनले शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्ने बताइन्। सहिदका सपना र नागरिकका अपेक्षा पूरा गर्न महानगर दृढ रहेको उनको भनाइ छ।

महानगरले सरकारी सेवालाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्‍याउने गरी काम गरिरहेको डंगोलले बताइन्। स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरणजस्ता मौलिक अधिकारको प्रत्याभूति तथा विभेदरहित समाज निर्माणलाई महानगरले प्राथमिकतामा राखेको उनले उल्लेख गरिन्।

स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तरमा सुधार ल्याउने तथा जेनजी आन्दोलनलगायत विभिन्न संघर्षबाट प्राप्त जनमतअनुसार काम गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन्।

परिवर्तन केवल भाषण र नारामा सीमित नभई नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी देखिनुपर्नेमा आफू सचेत रहेको डंगोलले बताइन्।

‘काठमाडौंलाई न्यायपूर्ण, सुशासित र बस्न योग्य सहर बनाउने हाम्रो अभियान जारी छ,’ उनले भनेकी छन्, ‘सहिदहरूले देखाएको बाटो र नागरिकले हामीमाथि गरेको भरोसा नै हाम्रो मार्गदर्शन हो। यही मार्गमा अविचलित भएर हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने सहिदहरूको आत्माले चिर शान्ति पाउनेछ भन्ने हाम्रो विश्वास छ।’


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology