मैनबत्तीको उज्यालोमा जेनजी आन्दोलनको सम्झना (तस्वीरहरू)

मैनबत्तीको उज्यालोमा जेनजी आन्दोलनको सम्झना (तस्वीरहरू)

एक वर्ष बित्यो, तर बानेश्वरको त्यो दिनको सम्झना अझै मेटिएको छैन।

  • कृष्पा श्रेष्ठ

  • मङ्लबार, भदौ २३, २०८३

  • 6
    SHARES
मैनबत्तीको उज्यालोमा जेनजी आन्दोलनको सम्झना (तस्वीरहरू)

कुराकानी। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा मंगलबार साँझ मैनबत्तीको उज्यालो देखियो। हातमा मैनबत्ती बोकेर भेला भएका युवाहरूले एक वर्षअघि भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सम्झिए।

संसद् भवनअगाडि बलिरहेका मैनबत्तीहरू केवल उज्यालो थिएनन्, ती एक वर्षअघि यही ठाउँमा उठेको आवाज र त्यसक्रममा गुमेका जीवनको सम्झना पनि थिए।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ठूलो जनधनको क्षति भएको थियो। आन्दोलनको पहिलो दिन नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए।

एक वर्षपछि त्यही आन्दोलनको केन्द्र बनेको बानेश्वर फेरि स्मृतिको थलो बनेको छ। दिनभर पुरानो संसद् भवन परिसरमा जेनजी शहीद परिवार, घाइते, मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएर स्मृति दिवस मनाए। शहीद परिवारले दीप प्रज्वलन तथा माल्यार्पण गर्दा धेरै आफन्त भावुक बने।

साँझ पर्दै जाँदा संसद् भवनअगाडि जम्मा भएका युवाहरूले मैनबत्ती बालेर शहीदहरूको सम्झना गरे। कसैको अनुहारमा मौनता थियो, कसैको आँखामा पीडा। मैनबत्तीको सानो ज्योतिले वरपरको अँध्यारो चिर्दै गर्दा एक वर्षअघिको त्यो आन्दोलन र त्यसले उठाएका प्रश्नहरू फेरि सम्झनामा आए।

जेनजी आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएर भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र राज्य सञ्चालनको शैलीविरुद्धको व्यापक असन्तुष्टिको अभिव्यक्ति बनेको थियो।

आजको बानेश्वरको दृश्यमा भने नाराभन्दा मौनता ठूलो थियो। सडकमा बलिरहेका मैनबत्तीहरूले ज्यान गुमाएकाहरूको सम्झनालाई उज्यालो दिइरहेका थिए।

एक वर्ष बित्यो, तर बानेश्वरको त्यो दिनको सम्झना अझै मेटिएको छैन। मैनबत्ती निभे पनि, परिवर्तनको त्यो आवाज सम्झनामा बलिरहनेछ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology