कुराकानी। अभिनेता शेखर सुमनको टेलिभिजन कार्यक्रम ‘शेखर टोनिट’ मा दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएपछि बलिउड अभिनेता सञ्जय दत्तले स्पष्टीकरण दिएका छन्।
कार्यक्रमका क्रममा उनले भारतको वर्तमान अवस्थाबारे कुरा गर्दै आफूले पहिलेको जस्तो ‘शान्ति’ महसुस गर्न नसकेको र ५ मिनेटका लागि देशको प्रधानमन्त्री बन्ने प्रसङ्गमा व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थ्याइएपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना सुरु भएको थियो।
विवाद बढेपछि सञ्जय दत्तले अक्टोबर ४ मा सामाजिक सञ्जाल एक्स (X) मार्फत आफ्नो सफाइ दिएका हुन्। उनले उक्त कुराकानी पूर्व-निर्धारित (स्क्रिप्टेड), हल्का र हास्यव्यङ्ग्यपूर्ण मात्र रहेको बताएका छन्।
आफ्नो प्रस्तुतिलाई फिल्म ‘मुन्नाभाई’ को ‘गान्धिगिरी’ शैलीसँग तुलना गर्दै उनले लेखेका छन्; “मेरो उद्देश्य कसैको भावना वा संस्थाप्रति ठेस पुर्याउनु थिएन। उक्त संवाद केवल प्रेम, सद्भाव, एकता र सकारात्मक सन्देश दिने उद्देश्यले गरिएको व्यङ्ग्य मात्र थियो।”
साथै, उनले आफ्ना शब्दहरूलाई मूल सन्दर्भभन्दा बाहिर लगेर गलत रूपमा व्याख्या गरिएको समेत स्पष्ट पारेका छन्।