कुराकानी। हास्य कलाकार सन्दिप क्षेत्रीले हाँसोमा उनिएका जीवनका कथा मिठा हुने बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले त्यसैले आफ्नो धर्म भुलेर हास्य कलाकारले हसाउन भुल्न नहुने बताए।
‘मान्छे मात्र हास्न सक्छ। अरु कुनै जीवन हास्न सक्दैनन्। त्यसैले हास्नुमा मानिस हुनुको सार्थकता लुकेको छ। हामी हास्य कलाकारलाई देख्दा त झन दर्शकहरू खुसी हुन्छन्। हामीलाई मानिसले हाँसोको रंगले मात्र हेरिरहेका हुन्छन्,’ उनले भने।
सुरुमा आफूलाई हाँसोको रंगले मात्र हेर्दा रिष लाग्ने गरे पनि अहिले खुसी लाग्ने गरेको उनले सुनाए। एक घटनाले आफूलाई निकै प्रभावित पारेको बताउँदै उनले भने, ‘मेरो हाँसो र जीवनलाई हेर्ने दृष्टिकोण एक घटनाले फेरिदिएको हो।
मेरी श्रीमती बिरामी हुँदा अस्पतालमा मेरो पीडा कसैले बुझेका थिएनन्। मलाई देख्दा खुसी साट्थे। तर, मभित्र पिडा थियो। अर्को घटना एक पटक ठूलो बुबालाई भेट्न पाटन अस्पताल उक्लिँदै थिए। उताबाट स्लाइन चढाइएकी निकै बिरामी महिला स्ट्रेचरमा थिइन्। उनले मलाई मुस्कानसहित सन्दिप दाइ भनिन्। हामी हास्य कलाकारलाई देख्दा बिरामी पनि मुस्कुराउन सक्छ। त्यहि घटनाबाट म सद्दे मान्छे भएको महशुस भयो। र, हास्य कलाकार हुनुमा गर्व गर्छु,’ उनले भने।
आफ्नो व्यक्तिगत जीवनबाट दर्शक प्रभावित नभइ कलाबाट प्रभावित भएकाले उनीहरूलाई हसाइ राख्नु आफ्नो कलाको धर्म भएको उनी बताउँछन्। त्यसैले अब म हाँसोबाट नै सबैलाई जवाफ दिने गरेको उनी बताउँछन्। उनी आफू हासि राख्न र अरुलाई हसाइ राख्न मन हासिराख्नु पर्ने र त्यसका लागि मनलाई हँसाइ राख्नुपर्ने एक्सरसाइज गर्न सुझाव दिन्छन्। सञ्जोग कोइरालाले कार्यक्रमको सहजीकरण गरेका थिए।