कुराकानी। सरकारले नेपाली चलचित्रलाई प्रोत्साहन गर्न अनुदान दिने भएपछि चलचित्र क्षेत्रमा नयाँ बहस सुरु भएको छ। तर, अनुदानभन्दा बढी चर्चा अहिले त्यसको कार्यविधि र आवेदन प्रक्रियाको हुन थालेको छ।
अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले चलचित्र फण्डको उद्देश्य राम्रो भए पनि वितरण प्रक्रिया न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
उनको प्रश्न छ; ‘सरकारी अनुदान स्थापित फिल्ममेकरबीच बाँडफाँट गर्ने माध्यम बन्ने कि नयाँ पुस्ताका सिर्जनाकर्मीको सपना पूरा गर्ने अवसर?’

लामिछानेले यो फण्ड नयाँ कथा, नयाँ सोच र फरक शैली बोकेका संघर्षरत फिल्ममेकरका लागि केन्द्रित हुनुपर्ने बताएका छन्। उनले यसलाई ‘बाँडचुँड गरेर मिलिजुली खाने कुरा होइन’ भन्दै कार्यविधिमाथि प्रश्न उठाएका छन्।
सरकारले पाँचवटा स्क्रिप्ट लेखन परियोजनालाई जनही ५ लाख, तीनवटा चलचित्र निर्माण परियोजनालाई जनही ७० लाख र पाँचवटा पोस्ट प्रोडक्सन परियोजनालाई जनही २० लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेको छ।
तर आवेदनका लागि दिइएको २१ दिनको समयसीमा र आवश्यक कागजातले नयाँ फिल्ममेकरलाई सहज बनाउँछ कि झन् अल्झाउँछ?