कुराकानी। केही महिनादेखि चर्चामा रहेको टुल्सा अधिकारी प्रकरण फेरि तातिएको छ। यसपटक बहस अदालतमा पुगेको छ। ललितपुर जिल्ला अदालतमा आज टुल्सा अधिकारीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइ सुरु भएको हो।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सरकारी वकिल र टुल्साका कानुन व्यवसायीले आ-आफ्नो दाबी राखिरहेका छन्। अब अदालतले टुल्सालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने भन्नेबारे चासो बढेको छ।
सरकारी पक्षको दाबीअनुसार, टुल्सा अधिकारीले अवैध रूपमा आर्जित रकम विभिन्न बैंक कारोबार र हुण्डीमार्फत चलाएर त्यसलाई वैध देखाउने प्रयास गरेकी हुन्। त्यसैको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ।
तर, टुल्साको पक्ष भने फरक छ। उनका कानुन व्यवसायीले यो कुनै संगठित अपराध नभई व्यक्तिगत आर्थिक लेनदेनबाट सुरु भएको विवाद भएको जिकिर गरेका छन्। त्यसैले आपराधिक मुद्दा लगाउनु उचित नभएको उनीहरूको तर्क छ।
विदेशमा रहेकी टुल्सा अधिकारीलाई यसअघि थाइल्यान्डबाट नेपाल ल्याएर अनुसन्धान अघि बढाइएको थियो। अहिले भने सबैको नजर अदालतको आदेशतर्फ छ, अदालतले टुल्सालाई थुनामा राख्छ, धरौटीमा छाड्छ कि साधारण तारेखमै रिहा गर्छ?