कुराकानी। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानी थुनिएपछि प्रहरीले खोला किनारका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिरोका कारण किम्रुङ खोला करिब ६ घण्टादेखि थुनिएको सूचना स्थानीयबाट आएको हो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नयाँपुल, वीरेठाँटीलगायत आसपासका बस्तीमा माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
यसअघि पनि किम्रुङ खोलामा पहिरो खसेर पानी थुनिएपछि बाढी आएको थियो। पछिल्लो घटनामा भने अहिले खोलामा थोरै मात्र पानी बगिरहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन्।
उनका अनुसार बिहान ६ बजेदेखि खोला थुनिएको थियो। अहिले पानी केही खुले पनि एकैपटक खोला खुलेमा जोखिम निम्तिन सक्ने उनले बताएका छन्।
किम्रुङ खोलामा आएको बाढीले यसअघि वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। बाढीका कारण घान्द्रुक जाने सडकसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
किम्रुङ खोलामा पुनः पहिरो खसेर पानी थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई समेत प्रहरीले सतर्क रहन आग्रह गरेको छ। पानीको मात्रा बढ्दै गएमा अचानक बाढी आउन सक्ने भन्दै नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा बस्न प्रहरीले अनुरोध गरेको छ।
किम्रुङ खोला अन्नपूर्ण गाउँपालिका–११ हुँदै मोदी खोलामा मिसिन्छ। मोदी खोला पर्वत हुँदै कालीगण्डकीमा पुगेर मिसिन्छ।