सुन्धारामा प्राकृतिक पानी ल्याउन महानगरको अध्ययन

सुन्धारामा प्राकृतिक पानी ल्याउन महानगरको अध्ययन

इनार खन्ने क्रममा प्रत्येक एक फिटमा भेटिएको माटोको नमुना संकलन गरिएको छ।

  • कुराकानी

  • बिहिबार, भदौ २५, २०८३

  • 1
    SHARES
सुन्धारामा प्राकृतिक पानी ल्याउन महानगरको अध्ययन

कुराकानी। काठमाडौँ महानगरपालिकाले सुन्धारामा प्राकृतिक रूपमा पानीको बहाव फर्काउने सम्भावनाबारे अध्ययन थालेको छ। भूमिगत पानीको अवस्था अध्ययन गर्न टुँडिखेलको पश्चिमी कुनामा महाङ्कालको दक्षिणतर्फ इनार खनेर परीक्षण भइरहेको छ।

२०८२ फागुन ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने र पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएको थियो। सोहीअनुसार अभियान कन्सल्टिङबाट परामर्श सेवा लिएर अध्ययन भइरहेको महानगरले जनाएको छ।

अध्ययनका क्रममा इनार करिब १० फिट गहिरो र साढे ३ फिट गोलाइमा खनिएको छ। इनार खनिएको स्थानभन्दा सुन्धाराको सतह करिब १० फिट तल रहेकाले त्यसभन्दा माथि उपलब्ध हुने भूमिगत पानी सुन्धारातर्फ प्रवाह हुन सक्ने सम्भावनालाई अध्ययन गरिएको हो।

इनार खन्ने क्रममा प्रत्येक एक फिटमा भेटिएको माटोको नमुना संकलन गरिएको छ। माटोको तह र नमुनाको परीक्षणबाट भूमिगत पानीको उपलब्धता विश्लेषण गर्न सकिने भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यले बताएका छन्।

जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि सुन्धारामा पानी ल्याउने सम्भावनाबारे थप प्रक्रिया तय गर्न सकिने बताएका छन्।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामलाई प्राथमिकतामा राखेर अध्ययन अघि बढाउन निर्देशन दिएकी छन्। उनले अन्य माध्यमबाट पानी ल्याउनुभन्दा प्राकृतिक रूपमा जलप्रवाह गराउने लक्ष्य रहेको बताएकी छन्।

स्थानीयका अनुसार सुन्धारामा वि.सं. २०४१ सालसम्म पानीको निकास थियो। सुन्धारा नजिक काठमाडौँ मल निर्माणका क्रममा जमिन खन्ने र संरचना निर्माण गर्ने क्रममा पानीको प्राकृतिक निकास रोकिएको बताइन्छ।

स्थानीय गौतम डंगोलका अनुसार २०५६ सालतिर सुन्धारामा पानी ल्याउने प्रयास गरिएको थियो। पानी आए पनि निकास खोल्न नसकिएपछि पानी बन्द गर्नुपरेको थियो। २०७२ सालको भूकम्पपछि धरहरा पुनर्निर्माणका क्रममा भएको संरचना निर्माणले पनि पुरानो जलप्रवाह प्रणालीमा असर परेको उनको भनाइ छ।

महानगरपालिकाले हाल भइरहेको अध्ययनबाट भूमिगत पानीको अवस्था पहिचान गरी सुन्धारामा प्राकृतिक पानीको बहाव पुनःस्थापना गर्न सकिने वा नसकिनेबारे निष्कर्ष निकाल्ने जनाएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology