कुराकानी। प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच सोमबार टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम तीव्र पारिएको जानकारी गराए। बेपत्ता नागरिकको खोजीलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।
प्रधानमन्त्री शाहले बाढीपछि न्युजिल्यान्डले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति आभार व्यक्त गरे।
उनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीबापतको वित्तीय सहयोगका लागि न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगको अपेक्षा गरे।
वार्तामा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले बाढीबाट भएको जनधनको क्षतिप्रति न्युजिल्यान्ड सरकार र जनताका तर्फबाट समवेदना व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाए।