कुराकानी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा जाने भएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा जान लागेका हुन्।
श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा स्याङ्जाको सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै शोकसभा आयोजना गरिएको हो।
श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
श्रेष्ठ २०१७ सालदेखि नै विद्यार्थी अवस्थाबाट प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका थिए। उनले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत भएका थिए। २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
सभापति थापाको स्याङ्जा भ्रमणलाई कांग्रेसभित्र श्रेष्ठको राजनीतिक योगदानको स्मरण र सम्मानका रूपमा हेरिएको छ। पछिल्लो समय कांग्रेसको आन्तरिक राजनीति तथा आगामी महाधिवेशनको तयारी चलिरहेका बेला थापाको स्याङ्जा भ्रमणलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।