कुराकानी। मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल ओमानविरुद्ध १४७ रनमा अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो।
नेपालको सुरुवात नै कमजोर रह्यो। २३ रनमै पहिलो विकेट गुमाएको नेपाल त्यसपछि ३६ रनमा चार विकेट गुमाउँदै संकटमा परेको थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोडे। उनीहरूबाहेक देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानका लागि जय ओडेडरा र हस्नैन शाहले ३–३ विकेट लिए। ओडेडराले १० ओभरमा २६ रन मात्र खर्चिए भने शाहले ८.४ ओभरमा २८ रन दिए। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।
अब ओमानले फाइनल प्रवेशका लागि १४८ रनको लक्ष्य पछ्याउनेछ। यो खेल जित्ने टोली एसीसी प्रिमियर कपको फाइनलमा पुग्नुका साथै आगामी एसिया कपमा स्थान बनाउनेछ।