कुराकानी। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्दैछन्।
नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हुन लागेको भेटवार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास तथा दुई देशबीचको हवाई सम्पर्क विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भारतीय समयअनुसार बिहान ११ बजे सुरु हुने भेटवार्तामा सुरुमा दुवै प्रधानमन्त्रीबीच करिब ३० मिनेट एक्लाएक्लै छलफल हुनेछ। त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ।
भ्रमणका क्रममा नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोगको प्रस्ताव अघि सारेको छ। यसैगरी नेपालले अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन पनि भारतसँग आग्रह गर्दै आएको छ। त्यस विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
भेटवार्ताका क्रममा दुवै देशबीच आर्थिक साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क, जलस्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खेलकुदलगायतका १० क्षेत्रमा सहकार्य समेटिएको संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ।
भ्रमणका क्रममा अयोध्या–जनकपुर रेल सेवा तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनासहित विभिन्न परियोजनासँग सम्बन्धित कार्यक्रम पनि अघि बढाइने तयारी छ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। दुईदिने भारत भ्रमण पूरा गरी उनी आजै स्वदेश फर्कनेछन्।