कुराकानी। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यहरूलाई सुन्धारास्थित गेस्ट हाउसमा पुगेर भेट गरेकी छन्।
भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको परम्परागत कला, संस्कृति, रहनसहन, आवास, सुरक्षा तथा जीवनस्तर सुधारका विषयमा छलफल गरेकी हुन्।
यसअघि सल्यान भ्रमणका क्रममा राउटे बस्तीमै पुगेर समुदायका सदस्यहरूसँग संवाद गरेकी मन्त्री बादीलाई उनीहरूले आफ्नै हातले बनाएका परम्परागत हस्तकलाका सामग्री उपहार दिएका थिए। त्यही भेटको स्मरण गर्दै काठमाडौंमा राउटे समुदाय आएको जानकारी पाएपछि मन्त्री उनीहरूलाई भेट्न पुगेकी हुन्।
भेटमा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई साडी, पोते, जुत्ता तथा अन्य आवश्यक सामग्री उपहार दिएकी थिइन्। उपहारप्रति खुसी व्यक्त गर्दै उनीहरूले मन्त्रीलाई धन्यवाद दिएका थिए।
छलफलका क्रममा राउटे समुदायको परम्परागत बसाइँसराइ, मृत्युसंस्कार र त्यसका कारण उत्पन्न हुने समस्या पनि उठाइएको थियो। एक स्थानमा समुदायका सदस्यको मृत्यु भएपछि अन्त्येष्टि र किरिया सम्पन्न गरी अर्को स्थानमा बसाइँ सर्ने परम्पराले सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सेवामा पहुँच कठिन हुने गरेको उनीहरूले बताएका थिए।
समुदायका सदस्यहरूले जीवनशैलीमा सकारात्मक परिवर्तन चाहेको उल्लेख गर्दै बालबालिका तथा युवाका लागि खेलकुद सामग्री, बस्तीको सुरक्षा र विभिन्न स्थानको भ्रमणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। परिवर्तनका लागि समुदायका अग्रज र मुखियालाई समेत विश्वासमा लिनुपर्ने उनीहरूको भनाइ थियो।
मन्त्री बादीले राउटे समुदायको ऐतिहासिक पहिचान र मौलिक संस्कृतिको संरक्षण गर्दै उनीहरूको जीवनस्तर सुधारका लागि सरकारले पहल गरिरहेको बताइन्। सुरक्षित आवास, पोषण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र जीविकोपार्जनका क्षेत्रमा समुदायको आवश्यकता र इच्छाअनुसार थप काम गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले राउटे समुदायको परम्परागत सीप तथा कलाको संरक्षणसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको बजार पहुँच विस्तार गर्नुपर्ने पनि बताइन्। समुदायको स्वतन्त्र इच्छा, सहभागिता र सहमतिका आधारमा सुधारका कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो।
भेटघाटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा दिएकी थिइन्। निमन्त्रणाप्रति खुसी व्यक्त गर्दै उनीहरूले मन्त्रालयमा आउने बताएका छन्।