दुखद

ब्रोड पिक हिमपहिरो : पुरबहादुर गुरुङको शव आज नेपाल ल्याइँदै

ब्रोड पिक हिमपहिरो : पुरबहादुर गुरुङको शव आज नेपाल ल्याइँदै

  • कुराकानी

  • बिहिबार, साउन २१, २०८३

  • 4
    SHARES
ब्रोड पिक हिमपहिरो : पुरबहादुर गुरुङको शव आज नेपाल ल्याइँदै

कुराकानी । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव आज नेपाल ल्याइने भएको छ।

नेपाल पर्वतारोहण संघ (एनएमए) ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार गुरुङको शव साँझ करिब ५:३० बजे काठमाडौं ल्याइने कार्यक्रम रहेको छ।

घटनापछि पाकिस्तान र नेपालका सरकारी निकाय, उद्धार टोली तथा पर्वतारोहणसम्बन्धी संस्थाहरूको समन्वयमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। प्रतिकूल मौसम, अत्यधिक उचाइ र जोखिमपूर्ण भूभागका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको सञ्चार माध्यमहरूले जनाएका थिए।

लामो खोजीपछि गुरुङसहित हिमपहिरोमा परेका आरोहीहरूको शव फेला पारिएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव स्कार्दुबाट नेपाल ल्याउने तयारी गरिएको हो।

नेपाल पर्वतारोहण संघले गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

गएको जुलाई ३० मा पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०५१ मिटर) आरोहणका क्रममा गएको शक्तिशाली हिमपहिरोमा ६ देशका १० जना आरोहीको मृत्यु भएको थियो।

दुर्घटनामा नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’ सँगै निम्स (निर्मल) पुर्जा, निमा शेर्पा, किली पेम्बा ‘किलु’ शेर्पा, ग्यालु शेर्पा र न्वाङ थेन्दु शेर्पा, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी तथा अमेरिकाकी साराह म्यालोरी गाइसको ज्यान गएको थियो।

प्रतिकूल मौसम र जोखिमपूर्ण भूगोलका कारण शव उद्धार कार्य निकै कठिन बनेको भए पनि पाकिस्तान र नेपालका उद्धार टोलीको संयुक्त प्रयासबाट सबै शव फेला पारिएको थियो।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology