कुराकानी। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश तयार रहेको बताएका छन्। सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा खेल पूर्वाधारको स्थलगत निरीक्षणपछि उनले प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी अघि बढिरहेको बताएका हुन्।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको पछिल्लो अवस्था र बाँकी कामबारे छलफल गरेका थिए।
‘निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई थप तीव्र बनाएको छ,’ उनले भने, ‘हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन्। देशभरका प्रदेश, जिल्ला र स्थानीय तहमा पनि उत्तिकै उत्साह र तत्परता देखिएको छ।’
मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको जनाउँदै काउन्टडाउनसमेत सुरु भएको घोषणा गरे। लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेल क्षेत्रलाई नयाँ उचाइ दिने उनको भनाइ थियो।