चासो

चलचित्र विकास बोर्ड अध्यक्षका १२ उम्मेदवार! कसको योग्यता के, कति?

चलचित्र विकास बोर्ड अध्यक्षका १२ उम्मेदवार! कसको योग्यता के, कति?

चलचित्र विकास बोर्डको अध्यक्ष पदका दावेदारहरुको योग्यताबारे यहाँ चर्चा गरिएको छ।

  • कुराकानी

  • शुक्रबार, अशोज ९, २०८३

  • 19
    SHARES
चलचित्र विकास बोर्ड अध्यक्षका १२ उम्मेदवार! कसको योग्यता के, कति?

कुराकानी। यो पटक चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएका छन्।

जसमा नरेशकुमार पौड्याल, निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा ‘जया’, डम्बरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेती रहेका छन्।

यी आवेदकको फिल्म क्षेत्रमा फरक फरक अनुभव र योगदान देखिन्छ। कोही लामो समयदेखि नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा सक्रिय छन् भने केहीको अनुभव अभिनय, निर्देशन, पटकथा, वितरण तथा अन्य क्षेत्रसँग जोडिएको छ।

आवेदकहरूको योग्यता र फिल्म क्षेत्रमा उनीहरूले गरेको कामलाई हेर्दा चलचित्र विकास बोर्डको नेतृत्वका लागि उनीहरूको पृष्ठभूमि पनि फरक–फरक देखिन्छ। केहि भने विशुद्ध राजनितीका लागि फिल्ममा काम गरेजस्तो गरेको पनि देखियो।

त्यसो भए आवेदन दिनेमध्ये कसको योग्यता के छ त, छोटकरीमा चर्चा गरौं।

नरेशकुमार पौड्याल
सन् १९९४ मा ‘अपराध’को निर्माता बनेर नेपाली फिल्म उद्योगमा प्रवेश गरेका नरेश पौड्यालको यात्रा अझै जारी छ। उनले ‘धर्म’, ‘चुनौती’, ‘हिरो’, ‘कस्तो साइनो’, ‘यस्तै रहेछ जिन्दगी’, ‘धड्कन’, ‘अभिमन्यु’, ‘दीप शिखा’जस्ता चर्चित फिल्म निर्देशनसँगै निर्माण गरेका छन्।

पछिल्लो दशकमा भने उनी अभिनयमै सक्रिय छन्। उनले प्रायः एन्टागोनिस्टको भूमिका निर्वाह गर्दै आएका छन्। ‘आउट ल’ नामको फिल्ममा उनको अभिनयलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए।

९० को दशकमा नेपाली फिल्म हाँकेका र अहिले पनि निरन्तर आफूलाई फिल्ममै अटाइराखेका पात्रमध्ये एक नरेश हुन्। उनी निर्माता हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेर निर्देशक, पटकथाकार हुँदै अहिले कलाकारका रूपमा काम गरिरहेका छन्।

निशा अधिकारी
पछिल्लो समय फिल्ममा भन्दा राजनीतिमा सक्रिय निशा अधिकारी राजनीतिक चेत भएकी कलाकार हुन्। चुनावपछि ‘कस्तुरी’ नामको फिल्मसँग जोडिएको समाचार बाहिर आए पनि यसबारे यतिवेला कतै चर्चा भने छैन।

सन् २००६ मा ‘घरबेटी बा’ टेलिसिरियलमा मुख्य भूमिका निर्वाह गर्दै उनले अभिनय यात्रा सुरु गरेकी हुन्। सन् २००९ मा ‘मिसन पैसा’ उनको पहिलो ठूलो पर्दाको फिल्म बन्न पुग्यो। त्यसपछि ‘फस्ट लभ’, ‘अपवाद’, ‘सुनगाभा’ लगायत चर्चित फिल्ममा काम गरिन्।

डम्मरबहादुर बुढाथोकी
‘डब्बु क्षेत्री’ नामले परिचित पत्रकार तथा निर्देशक डम्बरबहादुर बुढाथोकी लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय छन्। उनले आजभन्दा दस वर्षअघि ‘राहदानी’ नामको फिल्म बनाएर निर्देशनमा डेब्यु गरेका हुन्।

यस फिल्मले मन्त्रीलाई समेत धर्धरी रुवाएको भनेर चर्चा भएको थियो। पछिल्लो समय भने उनि फिल्ममा भन्दा धेरै गीतसंगित र फिल्म महोत्सव संञ्चालनमा व्यस्त छन्। चलचित्र पत्रकारिता पनि जारी छ।

सुवास कोइराला
सन् २०१४ देखि फिल्म क्षेत्रमा सक्रिय सुवास कोइरालाको पहिलो निर्देशकीय छोटो फिल्म ‘पुन्टे परेड’ हो। यो फिल्मले राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु जितेको थियो।

त्यसैगरी व्यवसायिक फिल्म ‘जंगे’मा उनले पटकथा तथा संवाद लेखेका छन्। ‘पलास’ र ‘गरुड पुराण’ नामका व्यावसायिक फिल्मका निर्देशक बनेका छन्। साथै ‘घरज्वाइँ’का पटकथाकारसमेत रहेका उनले ‘रमिताको पिरती’ नामको फिल्ममा सहनिर्माताको काम गरेका छन्।

दीपा बस्नेत
दीपा बस्नेत निर्देशक तथा पटकथा लेखक हुन्। उनी भिडियो सम्पादन समेत गर्छिन्। अभिनयमा पनि उत्तिकै रुचि रहेकी उनले करिब ४ सय नाटकमा अभिनयसमेत गरिसकेकी छन्।

उनी सन् २०१३ मा ‘अन्तराल’ फिल्मबाट निर्देशनमा डेब्यु गरेकी हुन्। त्यसको एक वर्षलगत्तै उनले ‘श्री ५ अम्बरे’ नामको फिल्म निर्देशन गरिन्। फिल्ममा आउनुअघि नै उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कलेज अफ फिल्म स्टडिजबाट निर्देशन तथा पटकथा लेखन विषयमा स्नातक हासिल गरेकी थिइन्।

त्यसपछि उनले गरेका कामहरू फाट्टफुट्ट मात्रै मिडियामा आएका छन्, तर उनी चुप भने छैनन्। उनले फेस्टिभललाई लक्षित गरेर सर्ट फिल्महरू बनाएकी छन्। चलचित्र विकास बोर्डमा पनि विभिन्न समितिमा रहेर काम गरिरहेकी छन्।

मनिष पण्डित
चलचित्र विकास बोर्डको बक्स अफिस सल्लाहकार समेत बनिसकेका मनिष पण्डितको फिल्मी यात्रा नायिका नम्रता श्रेष्ठबाट सुरु भएको देखिन्छ। उनी नम्रताका म्यानेजर भए र पछि कार्यकारी निर्माताका रूपमा सोल सिस्टर र ग्याङस्टर ब्लुज बनाएका हुन्। पछि आफ्नै कम्पनी खोलेर जायरा फिल्म बनाएका उनले नेपाली फिल्मलाई आईटीसँग जोड्ने काम गरे।

जयन्ती ओझा जया
‘जया’ नामले चिनिने जयन्ती ओझा गीतकार तथा पटकथाकार हुन्। सन् २०१२ मा ‘सडक’ नामको फिल्ममा गीत लेखेर उनले फिल्मी दुनियाँमा डेब्यु गरेकी हुन्। त्यसपछि त्यही वर्ष ‘कवच’ नामको फिल्ममा उनको नाम गीतकारसँगै कथा तथा पटकथाकारका रूपमा पनि अटाएको देखिन्छ। त्यसको एक वर्षपछि ‘मेरो मनको साथी’ फिल्ममा गीत लेखेकी छन्।

अहिले उनी फिल्मकै विषयलाई लिएर विद्यावारिधिको अन्तिम तयारीमा छिन् भने सामाजिक सञ्जालमा महिलाका मुद्दामा सशक्त आवाज उठाउँदै आएकी छन्।

अमर दीप सापकोटा
उनले सन् २०१३ देखि नै फिल्म क्षेत्रमा काम गरेको बताइएको छ। उनी सन् २०१६ मा ‘कारखाना’ भन्ने फिल्मबाट निर्देशनमा डेब्यु भएका हुन्। त्यसपछि ‘जय श्री दाम’ नामको फिल्ममा लेखकका रूपमा उनको नाम छ। अहिले भने ‘तीन तिघ्रे क्या बिग्रे’ फिल्मको निर्देशनमा व्यस्त छन्। साथै उनका अन्य फिल्महरु पनि पाइपलाइनमा देखिन्छ।

जेनिश पहारी श्रेष्ठ
जेनिश पहारी श्रेष्ठ फिल्म वितरक हुन्। उनि विदेशी फिल्मलाई नेपालका हलहरूमा ल्याउने काम गर्छिन्। विदेशमा फिल्म व्यवस्थापन पढेकी उनले प्रत्यक्ष रूपमा फिल्म निर्माणमा योगदान गरेकी छैनन्।

नरेश कुमार के.सी.
नरेश कुमार के.सी. पटकथाकार, निर्माता तथा निर्देशक हुन्। विदेशमा गएर फिल्ममा स्नातक गरेका उनी फिचर फिल्म ‘डाइङ क्यान्डेल’बाट निर्देशनमा डेब्यु भएका हुन्। ‘रोमियो एन्ड मुन्ना’ नामको व्यावसायिक फिल्म निर्माण गरेपछि भने उनको काम ठूलो पर्दामा हेर्न पाइएको छैन।

भगवतीकुमारी मैनाली उप्रेती
भिमा मैनाली नामले कलाकारितामा परिचित भगवतीकुमारी मैनाली उप्रेती सुरुवाती दिनमा टेलिभिजनमा स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउने गर्थिन्। उनले सन् २०१२ मा ‘सम्झिराख है’ नामको फिल्ममा अभिनय गरेर फिल्मी यात्रा सुरु गरेकी हुन्।

त्यसपछि ‘अलविदा’, ‘तीन घुम्ती’, ‘हाउ फन्नी’, ‘लभ लभ लभ’ लगायतका फिल्ममा उनले सहायक पात्रको भूमिका निर्वाह गरेकी छन्। सिरियलहरूमा समेत अभिनय गरेकी उनको पछिल्लो समय ‘एक मुठ्ठी बादल’ फिल्ममा अभिनय देख्न सकिन्छ।

हीराप्रसाद सेती
फिल्मी क्षेत्रमा ‘किरण बिक’ नामले परिचित हीराप्रसाद सोती फिल्मकर्मीभन्दा धेरै राजनीतिक अभियन्ता हुन्। उनी विद्यार्थी राजनीतिबाट पार्टीगत राजनीतिमा सक्रिय छन्। जेनजी आन्दोलनयता उनका सामाजिक सञ्जालमा फिल्मभन्दा धेरै सामाजिक कार्यका पोस्टहरू देख्न सकिन्छ।

ओस्कर फिल्म कलेजमा पढेका उनको हालसम्म निर्देशन गरेको एउटा मात्रै छोटो फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो।

पुनश्च: यी जानकारीहरु सामाजिक सञ्जालमा राखिएका सामग्रीबाट तयार पारिएका हुन्।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology