कुराकानी । खेताला भनेको ज्यालादारीमा काम गर्ने मानिस। यो हामीले भनेको होइन, प्रज्ञा नेपाली बृहत् शब्दकोशले भनेको हो।
नेपालमा पनि बेलामौकामा कलाकारको पारिश्रमिकबारे चर्चा चल्छ। कसले कति लियो, को महँगो आदि इत्यादि । यिनै हिसाबकिताबले फिल्मी बजार तताइरहन्छ।
तर अहिले दक्षिण भारतीय अभिनेता यशको एउटा भनाइले भने अर्को प्रश्न जन्माइदिएको छ।
रजत शर्माले सञ्चालन गर्ने भारतीय टेलिभिजन कार्यक्रम ‘आप की अदालत’मा यशले आफू पैसाको मामिलामा कलाकारभन्दा पनि निर्माताको सोचले काम गर्ने बताएका छन्। अर्थात्, फिल्मले पैसा कमाएपछि मात्रै पारिश्रमिक लिने र आफ्नो कामको मूल्यअनुसार कमाइ तय गर्ने उनको भनाइ छ।
अब यता फर्केर हेरौँ।
हाम्रा कलाकारको हिसाबचाहिँ अलि सजिलो छ, फिल्म चलोस् कि नचलोस्, पारिश्रमिक चाहिँ चल्नैपर्छ। निर्माताको लगानी भाडमा जाओस्, कलाकारको पारिश्रमिक भने जसरी हुन्छ चाहिन्छै चाहिन्छ ।
कामको मूल्यांकन कति भयो भन्ने प्रश्नभन्दा ‘कति पारिश्रमिक दिने?’ भन्ने प्रश्न अगाडि आउँछ। अझ कहिलेकाहीँ कामभन्दा पारिश्रमिकको अंक ठूलो सुनिन्छ। फिल्म चल्यो भने श्रेय बाँड्न सबै तयार, तर फिल्म नचलेको बिलचाहिँ प्रायः निर्माताकै काँधमा।
यसको अर्थ नेपाली कलाकारले कम पारिश्रमिक लिनुपर्छ भन्ने होइन। कलाकारको श्रमको मूल्य हुनुपर्छ। तर श्रमको मूल्य र बजारको जोखिमबीच कुनै सम्बन्ध हुनु पर्दैन त?
यशको मोडल नेपालमा हुबहु लागू हुन्छ या हुनुपर्छ भन्न खोजेकव हैन । उनको स्टारडम, बजार र भारतीय फिल्म उद्योगको संरचना हाम्रोभन्दा निकै फरक छ। तर उनको भनाइले एउटा असहज प्रश्न भने छाडेको छ, कलाकार फिल्मको सफलता/ असफलताको साझेदार पनि हो कि पारिश्रमिक लिएपछि आफ्नो जिम्मेवारी सकिएको ठान्ने खेताला मात्र?
फिल्म उद्योगमा कलाकार खेताला हुनु हुँदैन। बरु निर्माता र कलाकार दुवैले फिल्मको जोखिम र सफलतालाई केही हदसम्म साझेदारी गर्ने वातावरण बन्नुपर्छ।
नत्र हाम्रो फिल्मी गणित सधैं एउटै रहनेछ, फिल्म चले कलाकारको, नचले निर्माताको। तर कलाकारको पारिश्रमिकचाहिँ पक्का!