कुराकानी । नेपाल छाडेर अमेरिका पुगेका कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फेरि सिरियलमा फर्किएका छन्।
यसपटक सिरियलको नाम छ, ‘म त मर्छु कि क्या हो!’ यसअघि यहि नाममा यी दुईले फिल्म पनि बनाईसकेका थिए।
‘मेरी बास्सै’बाट स्थापित धुर्मुस सुन्तलीको पात्रलाई यो पटक अमेरिका पुर्याइएको छ।
सिरियलमा नयाँ कलाकार थपिएका छन्। सबैभन्दा चासो लाग्दो कुरा भनेको उनीहरूकी छोरी सुविहानीको अभिनय हो। उनले ‘मुन्तली’को भूमिका निभाएकी छन् र उनको अभिनयले दर्शकको ध्यान तानेको छ।
तर दुई एपिसोड हेर्दा सिरियल हाँसाउनेभन्दा धुर्मुस र सुन्तलीको विगत र वर्तमानप्रतिको गुनासो पोख्ने ठाउँ बनेको हो कि? भन्ने लाग्छ।
पहिलो एपिसोडमा रंगशालाको प्रसंग छ। जसमा आफूलाई मा’साला भन्न चाहेको उनले बताएका छन्। राज्यले समेत गर्न नसकेको प्रोजेक्ट उनिहरुले समाजसेवी बन्ने झोकमा सुरु गरेका थिए।
अरुसँग मागेर पुरा गर्न चाहेको सपना अन्तत: तुहिएन मात्रै, सिताराम कट्टेलले मानसिक यातना समेत भोग्न पर्यो।
केहि सिप नचलेपछि छोरीको खुट्टाको उपचार भन्दै उनिहरु अमेरिका गए। अहिले बाध्यताले देश छाड्न परेको भन्दै रोइलो गरिरहेका छन्।
त्यहि रोइलोमा आधारित सिरियल बन्न पुगेको जस्तो लाग्छ अहिले युट्युवमा प्रसारण भइरहेको सिरियल।
उनि अभिनयमा देश सम्झिएर भावुक हुन्छन् । देश सम्झेर धर्धरी रुन्छन् अनि बिच्च बिच्चमा स्टन्ट पनि मार्छन्, उनलाई देशले चिनेन भन्ने भावमा।
दोस्रो एपिसोडमा भने अमेरिकामा ग्यास स्टेसन र लिकर सपमा लगानी गरेको प्रसंग आउँछ। नेपालको सम्पति बेचेर यी दुईले ग्यास स्टेसन र लिकर सपमा लगानी गरेको समाचार बाहिरिएको थियो। उनले यसैबारे कुण्ठा पोखेका हुन्।
त्यति मात्र होइन, पुरानै पात्र र शैलीलाई अमेरिका लग्दा केही दृश्य भने नेपालीलाई नै होच्याएजस्तो लाग्छ।
किनभने एकातिर सुन्तली आगो फुकेर चुल्होमा खाना पकाइरहेकी हुन्छिन्। अर्कोतिर धुर्मुस बाल्टिन बोकेर सुपरमार्केटमा भैंसीको दूध खोज्दै हिँड्छन्।
अनि पटक पटक आउने एउटै भाव, ‘नेपाल जस्तो हो र!’
सिरियल हो, व्यंग्य गर्न पाइन्छ। तर व्यंग्यले कसलाई हँसाइरहेको छ र कसलाई होच्याइरहेको छ भन्नेचाहिँ छुट्टै प्रश्न हो।
दुई एपिसोडमै यस्ता दृश्य र संवादको मात्रा हेर्दा ‘म त मर्छु कि क्या हो’ सिरियल हो कि धुर्मुस सुन्तलीको आफ्नै कथा, कुण्ठा र गुनासाको थुप्रो? तपाईलाई के लाग्छ हामीलाई खुसुक्क भन्नुहोस् है!