वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

७९ वर्षीय विमल सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

  • कुराकानी

  • मङ्लबार, साउन २६, २०८३

  • 1
    SHARES
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

कुराकानी। वरिष्ठ साहित्यकार तथा भाषाविद् प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । उनको मंगलबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

७९ वर्षीय विमल सोमबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । परिवारका अनुसार अक्सिजनको मात्रा कम भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

नेपाली तथा मैथिली साहित्यमा लामो समयदेखि सक्रिय विमलले साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए । विशेषगरी जनकपुरधाम तथा मिथिला क्षेत्रको सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनलाई नेपाली साहित्यमा प्रस्तुत गर्ने सर्जकका रूपमा उनको विशिष्ट पहिचान बनेको थियो । उनी नेपाली र मैथिली दुवै भाषामा लेखन तथा अध्ययन–अनुसन्धानमा सक्रिय थिए ।

विमललाई नेपाली साहित्यमा पुर्‍याएको योगदानका लागि २०६६ सालको जगदम्बा, श्री पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, २०८० सालमा उनलाई जननायक बीपी कोइराला स्मृति ट्रस्टले बीपी कोइराला स्मृति साहित्य सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

विमल नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक र बहुभाषिक स्रष्टाका रूपमा परिचित थिए । उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यिक संस्थाहरूले बताएका छन् । भानु प्रतिष्ठानले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधकका रूपमा स्मरण गरेको छ ।

विमल मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु थिए । उनको अन्त्येष्टि मंगलबार नै जनकपुरधाममा गरिने परिवारजनले जनाएका छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology