कुराकानी। काठमाडौँ महानगरपालिकाले जलनको उपचार आवश्यक पर्ने लक्षित वर्गका व्यक्तिलाई प्रतिव्यक्ति २ लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।
महानगरपालिकाले जनस्वास्थ्य सरोकार ट्रस्टद्वारा सञ्चालित कीर्तिपुर अस्पतालसँग जलन उपचारका लागि सम्झौता गर्दै यस्तो व्यवस्था गरेको हो। सम्झौताअनुसार अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीले स्वास्थ्य शिक्षा समितिको सिफारिसमा उपचार सेवा पाउनेछन्।
त्यस्तै महानगर क्षेत्रभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि उक्त सेवा पाउनेछन्।
जलन उपचारका लागि महानगरपालिकाले अस्पताललाई १ करोड रुपैयाँको ‘जलन उपचार कोष’ उपलब्ध गराएको छ। उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुन नसके आगामी वर्षमा समेत जलनको उपचारमै प्रयोग गरिनेछ।
कोषबाट अस्पतालको क्याबिन, ईएचएस तथा कस्मेटिक उपचारको खर्च भने व्यहोर्ने छैन। अस्पतालले आफूसँग उपलब्ध सेवा तथा सुविधामै कोष परिचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
सम्झौतामा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले हस्ताक्षर गरेका छन्।
महानगरपालिकाले अस्पताललाई उपचारका लागि आवश्यक उपकरण खरिद गर्न थप १ करोड रुपैयाँसमेत उपलब्ध गराएको छ। उक्त रकमबाट एनेस्थेसिया मेसिन, २५० केभीएको जेनेरेटर र ५०० एमएको डिजिटल एक्स–रे मेसिन खरिद गरिएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण जलनमा परेका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताइन्।
सम्झौताअनुसार जलनको उपचारसँगै दुर्घटना रोकथाम, प्राथमिक उपचार तथा सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र तालिम पनि सञ्चालन गरिनेछ।
कीर्तिपुर अस्पतालका प्रा. डा. शंकरमान राईका अनुसार पछिल्लो एक दशकमा जलन भएका बिरामीको उपचार क्षमतामा सुधार आएको छ। अस्पतालले आगामी दिनमा थप सहयोग पाए गम्भीर जलन भएका बिरामीको उपचार क्षमता बढाउने लक्ष्य राखेको जनाएको छ।