कुराकानी । ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनको समयताका निर्माता रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक सञ्जालमा चर्किएको लफडा अझै जारी देखिएको छ।
एक वर्षअघि एकअर्काको फिल्मलाई लक्षित गरेर नकारात्मक कमेन्ट र प्रचारमा ‘साइबर सेना’ प्रयोग गरेको आरोप प्रत्यारोप चलेको थियो। विवाद यति चर्कियो कि रोहित साइबर ब्युरोसम्म पुगेका थिए भने सन्तोषले पनि कानुनी उपचारबारे छलफल गर्ने बताएका थिए।
त्यतिबेला सामाजिक सञ्जालमा स्टाटस, कमेन्ट, अडियो र सीसीटीभी फुटेजसम्म सार्वजनिक भएपछि फिल्मको प्रचारभन्दा निर्माता र निर्देशकको जुहारी नै बढी चर्चामा आयो।
पछि रोहितले आफूहरूबीचको विवाद शान्त भएको बताएका थिए। तर पुरानो लफडाको चर्चा भने बेलाबेला फेरि सतहमा आउने गरेको छ।
यो पटक रोहित, दीपक राज गिरीको समूहसँग मिलेर ‘छ माया छपक्कै २’ को निर्माता बनेका छन् र प्रचारप्रसारमा लागिपरेका छन्।
दीपकले उहि बेलामा समेत रोहितको साथ दिएका थिए।
सन्तोषले, कसैको सिर्जना एक जना व्यक्तिको कारणले मर्नु हुँदैन भन्दै रोहित निर्माता भएको पोस्टर शेयर गरे।
जसको प्रतिक्रिया स्वरूप, रोहितले पैसा दिन बाँकी भएर भाग्दै हिँडेको आरोप लगाए।
फिल्मको भिडन्त सकियो, तर जुहारीको अध्यायचाहिँ अझै सकिएको हो कि छैन जस्तो देखियो! कि के हो?