कुराकानी। प्राविधिक कारणले बन्द रहेको टेकुस्थित बायोग्यास प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच सम्झौता भएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सहरको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो।
सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले जैविक फोहोरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै प्लान्टलाई पुनःस्थापना गर्नुका साथै यसको दिगो सञ्चालन सुनिश्चित गर्नुपर्ने बताइन्। केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवा उपलब्ध गराएर परीक्षण गरेपछि प्लान्ट महानगरलाई हस्तान्तरण गरिने जानकारी दिए। उनले हरित जलवायु कोषअन्तर्गतका कार्यक्रममा पनि महानगरसँग सहकार्य गर्न सकिने उल्लेख गरे।
२०७२ सालमा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको यस प्लान्टमा महानगरपालिका र युरोपियन युनियनको करिब १ करोड ८२ लाख रुपैयाँ लगानी रहेको छ। प्लान्टबाट दैनिक ३ मेट्रिक टन जैविक फोहोर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३०० किलोग्राम जैविक मल र १३ हजार ५०० लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको छ।
सम्झौताअनुसार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विस्तृत सम्भाव्यता अध्ययन, उपकरण खरिद, जडान तथा परीक्षणको काम सम्पन्न गरेर महानगरलाई हस्तान्तरण गर्नेछ। त्यसपछि महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन, मर्मतसम्भार, बजेट व्यवस्थापन र व्यावसायिक सञ्चालनको जिम्मेवारी लिनेछ। महानगरपालिकाले सार्वजनिक,निजी साझेदारी (PPP) मार्फत परियोजनालाई व्यावसायिक रूपमा सञ्चालन गर्दै बञ्चरेडाँडामा पुग्ने फोहोरको मात्रा घटाउने र फोहोरबाट ऊर्जा तथा मल उत्पादन बढाउने लक्ष्य राखेको छ।