कुराकानी। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए। इशान पाण्डेले २५ रन जोड्दा शेरफन रदरफोर्ड २१ र आरिफ शेख २० रनमा अविजित रहे।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ४९ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १ विकेट लिए।
यो सुदूरपश्चिमको चार खेलमा दोस्रो जित हो। जितसँगै टोलीले ४ अंक जोडेको छ। तीन खेल खेलेको चितवनको भने यो पहिलो हार हो।
सुदूरपश्चिमको जितसँगै साविक विजेता लुम्बिनी लायन्स प्रतियोगितामा अपराजित रहने एक्लो टोली बनेको छ।