कुराकानी । यतिवेला देशभरको माहोल भोटेकोशीमा गएको बाढीका कारण दुखद छ । यहि माहोलमा भक्तपुरका बासिन्दाले भने आफ्ना दिवगंत आफन्तलाई सम्झिए ।
प्राय: ले भक्तपुरको गाईजात्रा भनेको केवल घिन्टाङघिसीको रमाइलो, बाजागाजा र भीडभाड मात्र होइन। यो दिवंगत आफन्तलाई सम्झने, उनीहरूको स्मृतिलाई सम्मान गर्ने र शोकलाई परम्परासँग जोडेर अघि बढ्ने पर्व पनि हो। त्यसैले गाईजात्राका रंगीन दृश्यभित्र कतिपय परिवारका लागि गहिरो पीडा र सम्झनाका कथा पनि लुकेका हुन्छन्।

भक्तपुरमा आज घिन्टाङघिसीको उल्लास छाइरहँदा आशालाल भने आफ्नी श्रीमती अस्तमायाको स्मृतिसँगै रथको छेउमा टोलाइरहेका थिए। श्रीमतीको फोटोसहित तयार गरिएको रथ नजिकै बसेका उनी आफ्ना जीवनसाथीलाई सम्झिरहेका थिए। आँखामा पीडा र मनमा पुराना सम्झना बोकेका आशालालले भावुक हुँदै भने, ‘मलाई छोडेर गइन् मेरी माया ले।’ गाईजात्राको भीडमा उनको यो भनाइले जीवनसाथी गुमाउनुको पीडा कति गहिरो हुन्छ भन्ने देखाइरहेको थियो।

त्यस्तै, अर्कोतर्फ लक्ष्मीनारायण आफ्ना दिवंगत बुवा बिकुलाल टुबन्जा, ७६ वर्षको उमेरमा बित्नुभएका बुवाको स्मृतिसहित रथको छेउमा मौन बसेका थिए। बुवाको तस्वीरतर्फ हेरिरहँदा उनको अनुहारमा बुवालाई गुमाउनुको दुःख स्पष्ट देखिन्थ्यो। वरिपरि घिन्टाङघिसीको आवाज, जात्राको चहलपहल र रमाइलो भइरहे पनि उनी भने आफ्नै सम्झनामा हराइरहेका थिए।

गाईजात्राको यही विशेषता हो, एकातिर घिन्टाङघिसीको उत्सव र सामूहिक उल्लास, अर्कोतिर आफ्ना प्रियजन गुमाएकाहरूको सम्झना र मौन पीडा। भक्तपुरका गल्लीहरूमा देखिने यस्ता रथ, तस्वीर र परिवारका भावनाले गाईजात्रा केवल एउटा जात्रा नभई मृत्यु र जीवनबीचको सम्बन्ध, स्मृति र संस्कृतिलाई पुस्तौँदेखि जोड्दै आएको परम्परा हो भन्ने अनुभूति गराउँछ।
फोटोहरु हेर्नुस्:
















कृष्पा श्रेष्ठ