मञ्चमा जारी ‘इजलास’

मञ्चमा जारी ‘इजलास’

ईश्वरले जीवनमा न त नाटक खेलेको हुन्छ, न अदालत देखेको।

  • कृष्पा श्रेष्ठ

  • बुधबार, असार २४, २०८३

  • 17
    SHARES
मञ्चमा जारी ‘इजलास’

कुराकानी। मञ्चमा पर्दा खुल्छ। कलाकारहरू अदालतको कथा सुनाउन आएका हुन्छन्। तर केही समयमै दर्शकले महसुस गर्न थाल्छन्— कठघरामा एउटा पात्र मात्र छैन, त्यहाँ समाज आफैं उभिएको छ।

यही अनुभूति दिलाउने प्रयास हो, मण्डला थिएटरको नयाँ प्रस्तुति ‘श्श्श… इजलास जारी छ’। प्रख्यात मराठी नाटककार विजय तेन्दुलकरको कालजयी नाटक ‘शान्तता! कोर्ट चालू आहे’ को नेपाली रूपान्तरणलाई निर्देशक गुञ्जन दीक्षितले समकालीन नेपाली परिवेशसँग जोडेर मञ्चमा उतारेकी छन्। यसको अनुवाद विजय बिस्फोटले गरेका हुन्।

नाटकको सुरुवात सामान्य देखिन्छ। महिला अधिकारसम्बन्धी जनचेतना फैलाउँदै गाउँ–गाउँ पुग्ने शिक्षकहरूको एउटा प्रयोगात्मक नाट्य टोली निर्धारित कार्यक्रमअनुसार प्रदर्शन गर्न एउटा गाउँको सामुदायिक भवन पुग्छ। साँझको प्रस्तुति अघि अन्तिम रिहर्सल गर्ने तयारी भइरहेका बेला मुख्य भूमिकाको कलाकार बिरामी परेर आउन नसक्ने खबर आउँछ।

समाधान खोज्ने क्रममा टोलीले व्यवस्थापनमा सहयोग गरिरहेका स्थानीय युवक ईश्वरलाई अभिनयमा उतार्ने निर्णय गर्छ। ईश्वरले जीवनमा न त नाटक खेलेको हुन्छ, न अदालत देखेको। त्यसैले उसलाई अदालतको प्रक्रिया बुझाउन कलाकारहरूले अभ्यासकै क्रममा एउटा ‘मक कोर्ट’ अर्थात् नक्कली अदालत तयार गर्छन्।

अभ्यासलाई विश्वसनीय बनाउन टोलीकी प्रमुख कलाकार देव्यानीमाथि काल्पनिक रूपमा भ्रूणहत्याको आरोप लगाइन्छ। सुरुमा यो केवल अभिनय जस्तो लाग्छ। तर बहस अघि बढ्दै जाँदा काल्पनिक आरोप देव्यानीको निजी जीवनसँग जोडिन थाल्छ। अभिनय र वास्तविकताको सिमाना विस्तारै हराउँदै जान्छ। अदालतको खेल अचानक वास्तविक मनोवैज्ञानिक र सामाजिक परीक्षणमा बदलिन्छ।

यही मोड नै नाटकको सबैभन्दा बलियो पक्ष हो। यहाँ प्रश्न कुनै कानुनी अपराधको मात्र होइन। प्रश्न महिलामाथि समाजले बनाउने धारणा, नैतिकताको दोहोरो मापदण्ड र चरित्रमाथि गरिने सार्वजनिक सुनुवाइको हो। एउटा आरोप सत्य हो कि होइन भन्नेभन्दा पनि समाज कसरी प्रमाणबिनै फैसला सुनाउन तयार हुन्छ भन्ने यथार्थ नाटकले उजागर गर्छ।

निर्देशक गुञ्जन दीक्षितका अनुसार देव्यानी केवल एउटा पात्र होइनन्, आफ्नै निर्णय लिन खोज्ने प्रत्येक महिलाको प्रतिनिधि हुन्। उनीमाथि गरिने प्रश्न र न्यायको नाममा गरिने मानसिक हिंसाले समाजको गहिरो पितृसत्तात्मक संरचना उजागर गर्छ। यही कारण नाटकले अदालतभन्दा बढी समाजको मनोविज्ञानमाथि प्रश्न उठाउँछ।

यस नाटकको अर्को विशेषता ‘प्ले–विथिन–अ–प्ले’ अर्थात् नाटकभित्र अर्को नाटकको संरचना हो। दर्शकले सुरुमा रिहर्सल हेरिरहेको महसुस गर्छन्। केहीबेरपछि त्यो रिहर्सल वास्तविक जस्तो लाग्न थाल्छ। अन्त्यसम्म पुग्दा कुन दृश्य अभिनय हो र कुन वास्तविकता भन्ने सीमारेखा आफैं धमिलो हुन्छ। यही नाटकीय संरचनाले दर्शकलाई केवल कथा हेर्ने होइन, त्यसभित्र सहभागी हुने अनुभव दिन्छ।

करिब डेढ घण्टाको यो प्रस्तुति मनोरञ्जनभन्दा बढी आत्मपरीक्षणको यात्रा हो। संवादहरूमा कानुनी बहसभन्दा सामाजिक मानसिकताको आवाज धेरै सुनिन्छ। हाँसोबाट सुरु हुने दृश्यहरू विस्तारै असहज मौनतामा रूपान्तरण हुन्छन्, जहाँ दर्शक स्वयं निर्णयकर्ता होइन, आफ्नै सोचको साक्षी बन्छ।

मण्डला थिएटरमा असार १९ देखि साउन ९ सम्म मञ्चन भइरहेको यो नाटकले एउटा पुरानो कथालाई नयाँ समयसँग जोडेको छ। बदलिएको समाजमा पनि महिलाप्रतिको दृष्टिकोण, अफवाह, नैतिकताको बोझ र सार्वजनिक निर्णयको प्रवृत्ति अझै उस्तै रहेको सन्देश यसले प्रभावशाली ढंगले प्रस्तुत गर्छ।

‘श्श्श… इजलास जारी छ’ अन्ततः अदालतको कथा होइन। यो त्यस्तो ऐना हो, जहाँ कठघरामा एउटा पात्रभन्दा धेरै हाम्रो समाज र हाम्रो चेतना उभिएको देखिन्छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology