भदौ २४ को विध्वंसको गम्भीर अनुसन्धान हुनुपर्छ : प्रचण्ड

भदौ २४ को विध्वंसको गम्भीर अनुसन्धान हुनुपर्छ : प्रचण्ड

प्रचण्डले भदौ २४ को घटनामा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको दाबी गरेका छन् ।

  • कुराकानी

  • बुधबार, भदौ २४, २०८३

  • 1
    SHARES
भदौ २४ को विध्वंसको गम्भीर अनुसन्धान हुनुपर्छ : प्रचण्ड

कुराकानी। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको हिंसा, आगजनी र विध्वंसको निष्पक्ष तथा गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले भदौ २३ गते युवाहरूले उठाएका जायज माग र त्यसको भोलिपल्ट भएको विध्वंसलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताएका हुन् । उनका अनुसार युवाहरूको सुशासन र पारदर्शिताको मागलाई हिंसा, लुटपाट र तोडफोडतर्फ मोड्ने गतिविधिको छुट्टै छानबिन आवश्यक छ ।

प्रचण्डले भदौ २४ लाई नेपालको इतिहासकै रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा व्याख्या गरेका छन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, राष्ट्रिय अभिलेखालयलगायतका संवेदनशील सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडले घटनाको गम्भीरतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।

उनले भदौ २४ को घटनामा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत हुन सक्ने भन्दै त्यस पक्षबाट समेत अध्ययन गर्नुपर्ने बताएका छन् । बदलिँदो भूराजनीतिक परिस्थितिलाई समेत ध्यानमा राखेर घटनाको वास्तविकता खोजिनुपर्ने उनको भनाइ छ ।

घटना भएको एक वर्ष बितिसक्दा पनि सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको भन्दै प्रचण्डले अनुसन्धान र प्रतिवेदन कार्यान्वयनमा समेत प्रश्न उठाएका छन् । यसअघि पनि उनले भदौ २४ को विध्वंस कसले गर्‍यो भन्ने प्रश्न उठाउँदै घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका थिए ।

प्रचण्डका अनुसार भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र परिवर्तनको मागलाई भदौ २४ को घटनाले सम्बोधन गरेन । बरु आन्दोलनमा घुसपैठ गरी त्यसलाई हिंसात्मक र विध्वंसात्मक बनाउने काम भएको उनको दाबी छ ।

उनले भदौ २४ को हिंसा र विध्वंसमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । आन्दोलनको प्रारम्भिक उद्देश्य र त्यसपछि भएको हिंसालाई छुट्टाछुट्टै ढंगले अनुसन्धान गरेर मात्रै घटनाको वास्तविकता बाहिर ल्याउन सकिने उनको भनाइ छ ।

भदौ २४ को घटनाको एक वर्ष पूरा हुँदा पनि यसमा संलग्नमाथिको अनुसन्धान र कारबाही पूर्ण रूपमा टुंगिन नसकेको विषय अहिले फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ । विभिन्न राजनीतिक दलहरूले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology