कुराकानी। सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालबाट चलचित्र ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ।
नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति २०२६ ले उक्त चलचित्रलाई नेपालको आधिकारिक प्रतिनिधिका रूपमा ओस्कारमा पठाउन सिफारिस गरेको हो। समितिका अनुसार यसपटक नेपालबाट ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’’ र ‘गौँथली’ गरी दुई कथानक चलचित्रले आवेदन दिएका थिए।
दुवै चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पका आधारमा मूल्यांकन गर्दा ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ छनोट भएको समितिले जनाएको छ।
छनोट समितिका अध्यक्ष लक्ष्मीनाथ शर्मा रहेका छन्। सदस्यहरूमा लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र विकास सुवेदी छन्।
अब ‘तिनीहरू, एलिफेन्ट्स इन द फग’ले ९९औँ ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ।