कुराकानी। प्रधानसेनापति महारथी अशोकराज सिग्देल एक साताको औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्।
चिनियाँ सरकारको निमन्त्रणामा सिग्देल सेप्टेम्बर १३ देखि १९ सम्म चीनमा रहनेछन्। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ सियाङसान फोरममा सहभागिता जनाउने नेपाली सेनाले जनाएको छ।
सुरक्षा तथा रक्षा क्षेत्रसँग सम्बन्धित यो अन्तर्राष्ट्रिय फोरममा विभिन्न देशका उच्च सैन्य अधिकारी तथा सुरक्षा विज्ञहरूको सहभागिता रहनेछ। सिग्देलको चीन भ्रमणले नेपाल–चीन सैन्य सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने नेपाली सेनाको अपेक्षा छ।
सिग्देलको अनुपस्थितिमा लेफ्टिनेन्ट जनरल प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।