दिल्लीमा ‘हम आजाद हैं’ भन्दै महिला विद्यार्थीको मार्च

दिल्लीमा ‘हम आजाद हैं’ भन्दै महिला विद्यार्थीको मार्च

घटनापछि महिला सुरक्षाको माग गर्दै दिल्ली विश्वविद्यालयका विभिन्न कलेजका विद्यार्थी सडकमा उत्रिएका थिए।

  • कुराकानी

  • बिहिबार, अशोज १५, २०८३

  • 6
    SHARES
दिल्लीमा ‘हम आजाद हैं’ भन्दै महिला विद्यार्थीको मार्च

कुराकानी। भारतको राजधानी नयाँ दिल्लीमा महिला सुरक्षाको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले व्यापक चर्चा पाएको छ। दिल्ली विश्वविद्यालयअन्तर्गत मिरान्डा हाउसका महिला विद्यार्थीहरूले निकालेको ‘हम औरतें आजाद हैं’ (हामी महिलाहरू स्वतन्त्र छौँ) मार्चपछि महिला सुरक्षा र स्वतन्त्र आवागमनको विषय पुनः बहसमा आएको हो।

सेप्टेम्बर २१ मा दक्षिण दिल्लीको कालकाजीस्थित आस्था कुञ्ज पार्कमा १७ वर्षीया किशोरीमाथि भएको भनिएको सामूहिक बलात्कारको घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शन सुरु गरेका थिए।

प्रहरीका अनुसार तीन जना पुरुषले आफूलाई प्रहरी अधिकारी भन्दै किशोरी र उनका साथीसँग सोधपुछ गरेका थिए। त्यसपछि उनीहरूलाई छुट्टाछुट्टै लगेर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप छ।

घटनापछि प्रहरीले आसिफ, हेमन्त सिंह र मुकेश सिंहलाई पक्राउ गरेको थियो। आसिफ प्रहरीसँग भएको मुठभेडपछि पक्राउ परेका थिए। तीनै जनालाई पोक्सो अदालतले न्यायिक हिरासतमा पठाएको थियो।

अक्टोबर १ मा प्रकाशित ‘द इन्डियन एक्सप्रेस’को रिपोर्टअनुसार पीडित किशोरीले तिहाड जेलमा गरिएको पहिचान प्रक्रियामा तीनै जना आरोपीलाई चिनिसकेकी छन्। घटनामा प्रयोग भएको भनिएका हतियारसमेत बरामद भएको र फरेन्सिक परीक्षण भइरहेको समाचारमा उल्लेख छ।

घटनापछि महिला सुरक्षाको माग गर्दै दिल्ली विश्वविद्यालयका विभिन्न कलेजका विद्यार्थी सडकमा उत्रिएका थिए। सेप्टेम्बर २८ मा मिरान्डा हाउसबाट फ्याकल्टी अफ आर्ट्ससम्म ‘हम औरतें आजाद हैं’ नारासहित ऐक्यबद्धता मार्च निकालिएको थियो।

वर्षाका बीच पनि जारी रहेको मार्चमा विद्यार्थीहरूले पोस्टर र ब्यानर बोकेर महिला स्वतन्त्रता तथा सुरक्षित सार्वजनिक स्थानको माग गरेका थिए।

उनीहरूले क्याम्पस तथा सार्वजनिक पार्कमा सडक बत्तीको व्यवस्था, सार्वजनिक यातायातको पहुँच विस्तार, विद्यार्थीलाई मेट्रो टिकटमा छुट र सार्वजनिक शौचालयको व्यवस्था गर्न माग गरेका छन्।

महिला सुरक्षाका नाममा छात्रावासमा कर्फ्यु लगाउने तथा राति सार्वजनिक स्थानमा आवतजावत गर्न प्रतिबन्ध लगाउने उपायको पनि विद्यार्थीहरूले विरोध गरेका छन्। उनीहरूको माग महिलाको स्वतन्त्रता सीमित गर्नुको सट्टा सार्वजनिक स्थान सुरक्षित बनाउनु हो।

यसैबीच दिल्ली विकास प्राधिकरणले पार्कहरूमा सीसीटीभी क्यामेरा थप्ने, सडक बत्ती सुधार गर्ने, सुरक्षा गार्ड बढाउने र रातिको गस्ती तीव्र बनाउने निर्णय गरेको छ। तर सूर्यास्तपछि पार्कमा प्रवेश नियन्त्रण गर्ने प्रस्तावप्रति विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्।

सेप्टेम्बर २८ को प्रदर्शनमा राजनीतिक विद्यार्थी संगठनको सहभागितालाई लिएर समेत विवाद भएको थियो। आयोजकहरूले आफ्नो मार्च स्वतन्त्र र गैरराजनीतिक रहेको स्पष्ट पारेका थिए।

एक आपराधिक घटनाबाट सुरु भएको विद्यार्थीहरूको विरोध अहिले महिलाको सुरक्षा, स्वतन्त्र आवागमन र सार्वजनिक स्थानमा समान अधिकारको मागसँग जोडिएको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology