कुराकानी। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनबाट आन्तरिक मतभेद समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने बताएका छन्।
महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन उनले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै देउवाले आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसका लागि १५औँ महाधिवेशन महत्वपूर्ण रहेको बताएका हुन्।
उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गर्दै आएको त्याग, संघर्ष र बलिदानलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गर्दै वडा अधिवेशन सुरु हुन लागेको भन्दै उनले नेता तथा कार्यकर्तालाई हर्षोल्लासका साथ सहभागी भएर अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।
देउवाले महाधिवेशनमार्फत पार्टीभित्र देखिएका मतभेद समाधान गरी नेपाली कांग्रेसलाई अझ सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।