कुराकानी। संघीय संसद्का दुवै सदनको चालु अधिवेशनअन्तर्गत अन्तिम बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ।
प्रतिनिधिसभाको बैठकमा यसअघि सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन्। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यक्रम छ।
यस्तै, गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ तथा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई समितिमा पठाउने प्रस्ताव राख्नेछन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पनि दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूचीमा छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यसै बैठकमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गर्ने कार्यसूची पनि रहेको छ। उक्त विधेयक यसअघि संसदीय समितिमा दफावार छलफलपछि प्रस्तुत रूपमा सर्वसम्मतिले पारित भएको थियो।
सभामुख डोलप्रसाद अर्यालले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना सभाको स्वीकृतिका लागि पेस गर्नेछन्। साथै राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ।
राष्ट्रियसभामा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्नेछन्। प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रतिनिधिसभाबाट गरिएको संशोधनलाई सहमति दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।
त्यसैगरी, राष्ट्रियसभाले ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पारित गर्ने कार्यसूची छ। यस विधेयकको समितिगत प्रतिवेदन यसअघि राष्ट्रियसभामा पेस भइसकेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिसमा असोज १६ गते राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्।