कुराकानी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले फेसबुकमा लेखेको एउटा व्यङ्ग्यात्मक स्टाटसपछि सामाजिक सञ्जालमा ‘धन्न’ शब्दलाई लिएर काउन्टर–जुहारी चलेको छ।
आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह आयोजना भएको थियो। समारोहमा कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री शाहको संसदीय उपस्थितिमाथि प्रश्न उठाउँदै ‘संसद् खुला छैन, संसद्भित्र पनि खुलामञ्च चाहिएको छ’ भन्ने धारणा राखेका थिए। प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने उनको भनाइ थियो।
थापाको उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहले आइतबार राती फेसबुकमा लेखे;
‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’

बालेनको उक्त टिप्पणी कांग्रेस महाधिवेशनमा आफूविरुद्ध उठाइएको प्रश्नप्रतिको व्यङ्ग्यात्मक प्रतिक्रियाका रूपमा हेरिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा शाहले खुलामञ्चको स्तरोन्नतिसँग सम्बन्धित काम गरेका थिए।
त्यसपछि सुरु भयो ‘धन्न’ जुहारी
प्रधानमन्त्री शाहको स्टाटसपछि सामाजिक सञ्जाल प्रयोगकर्तादेखि राजनीतिक नेता तथा अभियन्तासम्मले आफ्ना प्रतिक्रियामा ‘धन्न’ शब्द प्रयोग गर्न थालेका छन्।
कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले बालेनको स्टाटसको जवाफ दिँदै लेखेका छन्।
‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ । प्रधानमन्त्री नै भएपनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्।’

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले पनि ‘धन्न’बाटै प्रधानमन्त्रीलाई जवाफ फर्काएका छन्। उनले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका कारण आज नेपालीका रूपमा गर्व गर्न पाएको आशय व्यक्त गरेका छन्।

यस्तै, जेनजी अभियन्ता रक्षा बमले पनि बालेनको स्टाटसलाई लक्षित गर्दै लेखेकी छन्;
‘धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

बमले आफ्नो प्रतिक्रियामा खुलामञ्चबाट उठाइएका सुकुम्बासी, बाढीपीडित तथा विदेशमा रहेका नेपालीका मुद्दासमेत उल्लेख गर्दै प्रधानमन्त्रीको टिप्पणीमाथि प्रश्न उठाएकी छन्।
यसैबीच कमेडियन हिमेश पन्त, इन्फ्लुएन्सर भिक्टर पौडेल लगायतले पनि ‘धन्न’ शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्।

पन्तले जेनजी आन्दोलनसँग जोड्दै ‘५० वर्षमै आफूलाई सभापति भन्न पाएका छन्’ भन्ने व्यङ्ग्य गरेका छन् भने पौडेलले आरओएनबी स्टोरबाट आईफोन किनेको प्रसङ्ग जोड्दै ‘धन्न’बाटै कटाक्ष गरेका छन्।

यसरी एउटा राजनीतिक टिप्पणीबाट सुरु भएको ‘धन्न’ शब्दको प्रयोग अहिले सामाजिक सञ्जालमा यही शब्द राजनीतिक व्यङ्ग्यको नयाँ शैली बनेको छ।