कुरौटे

हिरोभन्दा हिरोइनका बाउ ६ वर्ष कान्छा!

हिरोभन्दा हिरोइनका बाउ ६ वर्ष कान्छा!

पर्दामा हिरो बूढिँदा ‘स्टार’ र हिरोइन बूढिँदा ‘आमा’ बन्ने यो हिसाबचाहिँ कसले बनाएको होला?

  • कुराकानी

  • बुधबार, भदौ ३१, २०८३

  • 9
    SHARES
हिरोभन्दा हिरोइनका बाउ ६ वर्ष कान्छा!

कुराकानी । ‘लै बरी लै’ गीत सार्वजनिक भएसँगै ‘आचार्य’की हिरोइन सजिना श्रेष्ठको चर्चा चुलिएको छ। कारण, उनले आफ्नो बाउको समेत ‘निखिल दाइ’ पर्ने उमेरका हिरोसँग रोमान्स गरेकी छन्।

युट्युबको कमेन्ट सेक्सनमा निखिल उप्रेतिको नाच हेरेर उनका फ्यान अघाएका छैनन्। तर सजिनाको कामको त परै जाओस्, अस्तित्वका हिसावमा ‘स’ समेत मेन्सन भएको देखिँदैन। तर उनको उमेरचाहिँ फिल्मी बजारमा खुबै चर्चामा छ।

खोज्दै जाँदा रमाइलो तथ्य भेटियो। निखिल उप्रेतीले २०५७ सालमा नेपाली फिल्ममा डेब्यू गर्दा उनकी हिरोइन सजिना जन्मिएकै थिइनन्। अझ निखिल जन्मिँदा सजिनाका बाउसमेत जन्मिएका रहेनछन्!

निखिल सन् १९७४ अर्थात् वि.सं. २०३१ सालमा जन्मिएका हुन्। सजिना जन्मिँदा निखिल २६ वर्षका थिए भने उनका बाउ मोहन श्रेष्ठ २० वर्षका।

अर्थात्, निखिलभन्दा सजिनाका बाउ मोहन ६ वर्ष कान्छा!

यहाँ कुरा उमेरको मात्रै होइन, फिल्मी नजरको पनि हो है।

हिरोको उमेर बढ्दै जाँदा ‘अनुभवी’, ‘परिपक्व’, ‘स्टार’ भनिन्छ। तर हिरोइनको उमेर बढ्यो कि नयाँ अनुहार खोज्ने दौड सुरु हुन्छ।

कुनै समय हिरो बनेका पुरुष कलाकारसँग स्क्रिन सेयर गरेका महिला कलाकार पछि उनै हिरोकी आमा बनेर फिल्म खेलेका उदाहरण पनि कम छैनन्।

‘यसले के फरक पार्‍यो त?’ भन्नुहोला।

तर यसले फरक पार्छ।

पर्दामा बारम्बार एउटै ढाँचा दोहोरिँदा महिलाको युवापनलाई रोमान्टिक भूमिकाको ‘योग्यता’ र पुरुषको उमेरलाई अनुभव तथा स्टारडमसँग जोड्ने सोच बलियो हुन सक्छ।

केटा कम उमेरको र केटी बढी उमेरकी भयो भने समाजलाई अप्ठ्यारो लाग्ने, तर पुरुष आफूभन्दा धेरै कान्छी महिलासँग रोमान्स गर्दा सामान्य मानिने, यो उमेरको मात्र होइन, लैङ्गिक दृष्टिकोणको पनि कुरा हो।

पर्दामा देखिने उमेर अन्तरलाई मात्रै सामान्य ठान्ने कि त्यसले निर्माण गर्ने सामाजिक भाष्यलाई पनि प्रश्न गर्ने?

अब गोमादेवी र शिवनारायणकै कथा भन्न खोजिएको हो भने त्यसलाई कथाले मागेको मान्न सकिएला। तर पर्दामा हिरो बूढिँदा ‘स्टार’ र हिरोइन बूढिँदा ‘आमा’ बन्ने यो हिसाबचाहिँ कसले बनाएको होला?

तपाईलाई के लाग्छ? हामीलाई खुसुक्क बताउनुस् है!


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology