कुराकानी । नेपालमा यतिवेला चर्चामा रहेको टेलिभिजन शो हो, कमेडी दरवार ।
भारतीय नागरिक तथा कमेडियन बिक्की अग्रवालले निर्देशन गरेको यस कमेडी शोले यतिबेला धेरैको ध्यान खिचिरहेको छ ।
भारतकै कमेडियन कपिल शर्मा टेलिभिजन छाडेर नेटफिल्क्समा लम्किँदा अलपत्र परेका नेपाली फ्यानहरुलाई यो शोले धेरै हदसम्म राहत दिएको छ ।
त्यति मात्रै हैन गायकदेखि नायकसम्म टिकटकरदेखि विभिन्न रियालिटी शोका विजेतासम्म सबै अटाएका छन्, यस शोमा ।
महाराजा बनेका विजय बरालको पनि संयोगवस् शो चलिरहेकै समयमा फिल्म चल्यो र साइड कलाकारबाट मुख्य भुमिकाको नायक बने । महारानी बनेकी गौरी मल्ल पहिलेदेखि नै चर्चित र सम्मान योग्य नाम ।
सबै कुराले शोलाई साथ दिइरहेका बेला कन्टेन्टमा भने बेलाबखत चुकिरहेको छ । जसले गर्दा कमेडी गर्दा मान्छेलाई होच्याउनैपर्ने, गाली दिनैपर्ने, मानसिक रुपमा आघात पार्नेपर्ने, वडीसेमिङ गर्नैपर्ने, जस्ता परम्परागत रमाइलोलाई निरन्तरता दिएको आभाष हुन्छ ।
यस्तै भयो, केहि हप्ताअघि प्रसारण भएको शोमा पनि ।
पाहुना थिए, चर्चित चलचित्र पत्रकार प्रकाश सुवेदी र प्राइम टीभीकै संञ्चालक ऋषि धमला । प्राइम टीभीबाटै प्रसारण भएकाले साहुको रुपमा समेत सहभागी थिए धमला ।
सुवेदीलाई जतिपनि उडाइयो त्यो उनको व्यवसायीक कार्यको थियो । उनको कार्यक्रममा भएका विवाद र प्रस्तुतिकरणलाई लिएर गरिएका कमेडीलाई सहज रुपमा लिन सकेपनि धमलामाथी गरिएको कमेडी बिलकुलै व्यक्तिगत थियो ।
धमलाको नाकलाई लिएर कमेडी, उनको परिवारलाई लिएर कमेडी, उनको स्वभावालाई लिएर कमेडी, उनको उमेरलाई लिएर कमेडी ।
रमाइला हर्कत गरेर पत्रकारीतामाथी नै प्रश्न खडा गरिरहने उनको हँसाउने र ब्यंग्य गर्ने व्यवसायीक ठाउँ, प्रसंग टन्नै हुँदा समेत वडीसेमङ र निजी जिन्दगीमा उनकै अगाडी घोचपेच भइरहेको थियो ।
र यो घोचपेचमा उपस्थित सबै मुर्छा परेर हाँसिरहँदा धमला हाँस्न सकेका थिएनन् ।
अन्त्यमा, यसलाई धमलाले आफु खुला किताव भन्दै ढाकछोप त गरे तर उनले आफुले गरेको मेहनतबारे बताइरहँदा समेत त्यसलाई उडाइरहेका थिए सहभागीहरुले ।
प्रस्तुतीबारे प्रतिक्रिया दिने सिलसिलामा महाराजा बनेका बरालले, ‘केहि कुरा सिधै भन्दा, नभनेको भए हुने रै‘छ भन्ने लाग्यो भने । उनले भनेका छन्, केहि केहि कुरा ठ्याक्कै भन्दा ठीक लाग्दो रहेछ केहि कुरा भन्दा नभनेको भए हुन्थ्यो भन्ने लाग्दो रहेछ कहिलेकाहीँ ।’
तर महारानी बनेकी गौरी मल्लले भने कोहि माइकलाल आएपनि डराउन पर्दैन भनेर हौसला दिइन् ।
उनले भनेकी छन्, ‘जो गेष्ट यहाँ आउनुहुन्छ हाम्रो इज्जत बढाउनुहुन्छ, उहाँहरुलाई थाहा छ कि कुन दरवारमा छौँ भनेर ।उहाँहरु दिमागी रुपमा तयार भएरै आउनुहुन्छ । उहाँहरु भनेको यति पुराना यति खारिएका मान्छेहरु हुन्, ए टु जेट् थाहा छ कि अगाडीको मान्छे उभ्भिने बित्तिकै कुन किसिमको प्रश्नबाट प्रहार गर्नुपर्छ र त्यसको हाम्लाई कुन किसिमको रेस्पोन्स आउँछ । उहाँहरु यतिकै होमिन आउनुभएको हैन यो कार्यक्रम के हो भनेर ।’
उनले अगाडी भनिन्, ‘ऋषि सरले नि कति जनालाई कस्ता कस्ता प्रश्न गर्नुहुन्छ त्यहि किसिमको उत्तरको अपेक्षा राख्नुहुन्छ ।’ यी कुराहरु स्वाभाविक भएको भन्दै आँत्तिनुपर्ने डराउनुपर्ने केहि नभएको बताइन्।
‘तपाईहरु कलाकार हो, जो सुकै माइकालाल आएपनि डराउनु पर्दैन । यो तपाईको ठाउँ हो, उहाँहरुको ठाउँमा जाँदा बिचार गर्नुस्, यहाँ जरुरी छैन ।’ उनले भनेकी छन् ।
उनि अझै अगाडी बढ्दै भनिन्, ‘शो दर्शकका लागि हो, उनिहरुले ताली बजाउँछन् भने त्यो चिज राम्रो हो भनेर बुझ्नुपर्छ ।’
तर मल्ल जी, ताली बजाएका सबै कुरा राम्रा हुँदैनन् । यो भद्दा मजाक हो । अनि कसैले गलत गरेको छ त्यसैले हामी पनि गरौँ भन्ने धारणा पनि राम्रो हैन ।
यस्ता भद्दा मजाकले समाजमा सकारात्मक प्रभाव पार्दैन । यसो भन्दा समाजको ठेक्का लिएको छैन भन्नेपनि सोच आउन सक्छ । समाज भनेको तपाईँको दर्शक जसको तालीले तपाईहरु हौसिएर अगाडी बढ्नुभएको छ ।
शोकै एक एपिसोडमा बैदेशिक रोजगारीमा जाने र आउने दुई पात्रले कमेडी गरेका छन् । इमोशन सँगै भएका ब्यंग्यले देशको सामाजिक, राजनितीक र अर्थिक चेतमाथी प्रश्न तेर्स्याएको छ ।
यस्ता कमेडीले सकारात्मक हाँसो ल्याउन मद्दत गर्छ । अब हाँसोमा पनि तर्क खोज्ने बेला भइसकेको छ ।
मानिसहरु मानसिक रुपमा विक्षिप्त बन्दै गएका छन् । सुखि छन्, खुशी छैनन् । यस्तो समयमा हँसाउने जस्तो अफ्ट्यारो चुनौती बोकेर ‘कमेडी दरवार‘ ल्याउनुभएकोमा सबैलाई सम्मान तथा बधाई छ ।
तर हँसाउने चक्करमा आफु कतिसम्म जाने भन्नेबारे सोच्न नभुल्नुहोला है त ।