कुरौटे

निखिलको कुरा एउटा, काम अर्को?

निखिलको कुरा एउटा, काम अर्को?

निखिलले फिल्म तरकारी जस्तै, अनि निर्माता चाहिँ  तरकारी पसले जस्तै भन्न खोजेका हुन् र?

  • कुराकानी

  • शनिबार, अशोज ३, २०८३

  • 15
    SHARES
निखिलको कुरा एउटा, काम अर्को?

कुराकानी । आचार्य फिल्मको ट्रेलर रिलिज कार्यक्रममा केही समय ‘सन्त’ समेत बनेका नायक निखिल उप्रेती यसपटक भने पत्रकारमाथि नै कडा रूपमा प्रस्तुत भए।

उनले पत्रकारलाई पाठ मात्रै पढाएनन्, आफ्नो फिल्मको उद्देश्य पनि सुनाए, विदेशी चलचित्रको प्रभाव कम गर्ने।

तर रोचक कुरा के छ भने, विदेशी प्रभाव कम गर्ने उद्देश्य बोकेको भनिएको फिल्मको सार्वजनिक ट्रेलरमै नेपाली भाषाभन्दा हिन्दी र अंग्रेजीको प्रयोग बढी देखिन्छ। फिल्ममा काम गर्ने केही कलाकार विदेशी छन् भने छायांकन समेत विदेशमा गरिएको छ।

यसलाई उनले भन्न त भने, कथाले मागेको । त्यसो भए विदेशी चलचित्रको प्रभाव कम गर्ने भन्नुको मतलव अरुले बढाए भन्ने हो । अरु फिल्मलाई विदेशी प्रभाव बढाएको बताइरहँदा ती पनि त समयकै माग थिए होलान्। कथा कै माग थिए होलान् ।

कलाको कुनै बोर्डर हुँदैन। त्यसैले फिल्म बेच्ने बेलामा ‘नेपालीपन’को कुरा सार्नै मिल्दैन।अरुले गरेनन् मैले गर्छु भनेर फेरि कथाले मागेको त झन् भन्नै मिल्दैन। यसरी हेर्दा फिल्म पनि एभरेष्ट मम जस्तै हो, नाममा सगरमाथा छ भन्दैमा खानै पर्छ भन्ने हुँदैन ।

अनि कार्यक्रममा उठेको अर्को प्रसंग, निखिलकी श्रीमतीसमेत रहेकी अभिनेत्री सञ्चिता लुइँटेल पहिले निर्मात्रीका रूपमा फिल्मसँग जोडिएकी थिइन्। अहिले भने प्रचार सामग्रीमा उनको नाम निर्मात्रीबाट हटाइएको देखिन्छ।

केही समयअघि सामाजिक सञ्जालमा देखिएको ‘कोल्ड वार’ र अहिले आचार्यका प्रचार सामग्रीमा सञ्चिताको खासै सक्रियता नदेखिएपछि कार्यक्रममा उनीहरूको सम्बन्धबारे पनि प्रश्न उठ्यो। उनि कार्यक्रममा पनि उपस्थित भएकी थिइनन्। यसैबारेको प्रश्नले सायद निखिललाई अझ कडा बनायो।

उनले ३५ वर्षदेखि चलचित्र पत्रकारितामा लागेकाहरू पनि अरूको घरभित्र पस्नेबाहेक फिल्मी ज्ञानमा जानकार नभएको भन्दै आफूलाई लाज लाग्ने टिप्पणी गरे।

प्रश्नलाई नै ‘बिमारी’को संज्ञा दिँदै उनले पत्रकारलाई चलचित्रको प्राविधिक पक्ष सिक्नसमेत सुझाव दिए। विषयवस्तुको ज्ञान नभएकै कारण व्यक्तिगत सम्बन्ध र ‘तुच्छ’ विषयमा मात्रै प्रश्न सोधिएको उनको आरोप थियो।

तर यहाँ पनि एउटा रमाइलो दृश्य देखियो, पत्रकारलाई चलचित्र पत्रकारिता सिकाइरहेका निखिलको भाषणमा कार्यक्रममा उपस्थित पत्रकारले नै खुशी हुँदै ताली बजाइरहेका थिए।

आफ्नो चलचित्रलाई तरकारी र फलफूलसँग तुलना गर्दै उनले तरकारी व्यापारीलाई उसको घरको कुरा सोध्न नमिल्ने तर्कसमेत गरे।

अब प्रश्नचाहिँ यति मात्रै, विदेशी प्रभाव घटाउने फिल्मको उद्देश्य सुनाउने निखिलले आफ्नो फिल्ममा देखिएको हिन्दी, अंग्रेजी प्रभावलाई चाहिँ कुन तराजुले जोख्लान्?

अनि नबुझेको कुरा, निखिलले फिल्म तरकारी जस्तै, अनि निर्माता चाहिँ  तरकारी पसले जस्तै भन्न खोजेका हुन् र?

कुरा बुझ्नै गाह्रो भो!


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology