कुराकानी। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेसँगै ब्यारेजमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार शुक्रबार कोशी ब्यारेजमा करिब २ लाख ४० हजार क्युसेक पानीको बहाव मापन भएको छ । बहाव बढ्दै गएपछि थप ढोका खोलिएको हो ।
ब्यारेजमा रेड अलर्टको अवस्था रहे पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको प्रशासनले जनाएको छ । अघिल्ला वर्षहरूमा सप्तकोशीमा ५ लाख क्युसेकभन्दा बढी पानीको बहावसमेत मापन भएको सीडीओ अर्यालले बताएका छन् ।
हाल कोशी पुल भएर सवारीसाधनको आवागमन रोकिएको छैन । तर पानीको बहाव थप बढे आवश्यकताअनुसार निर्णय लिइने प्रशासनले जनाएको छ ।
सप्तकोशीमा पानीको सतह बढ्दो क्रममा रहेकाले मौसम विज्ञान विभागले नदीको तल्लो तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ ।