कुराकानी। देशभर जारी वर्षा र सम्भावित बाढी-पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले आफ्ना सबै मन्त्रालय र मातहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि दिएको निर्देशनअनुसार संयन्त्रहरू पूर्वतयारी र प्रतिकार्यमा जुटेका हुन्।
बिहीबार मन्त्रालयहरूबीच भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्बाट हुने मानवीय र भौतिक क्षति रोक्न सरकारी संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताएका छन्। उनले स्थानीय तहहरूलाई विपद् प्रतिकार्यमा स्रोत-साधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रहसमेत गरेका छन्।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ‘स्ट्यान्ड बाइ’ राखेको छ। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ भने अस्पताल र एम्बुलेन्स सेवालाई चौबिसै घण्टा आपत्कालीन अवस्थामा राखिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन र उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिएको छ। उता शिक्षा मन्त्रालयले असोज ९ देखि ११ गतेसम्मका निर्धारित परीक्षा स्थगित गर्दै सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको छ।
खाद्यान्न र इन्धनको अभाव हुन नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन तीव्र बनाएको छ भने भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदा बस्न रोक लगाएको छ।
त्यस्तै, ऊर्जा मन्त्रालयले बाढीको पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउँदै प्रमुख नदीमा ५ दिन र साना नदीमा ४८ घण्टा अगावै जानकारी पाउने व्यवस्था मिलाएको छ। पूर्वाधार मन्त्रालयले सम्भावित पहिरो नियन्त्रणका लागि जोखिमयुक्त सडक खण्डहरूमा भारी उपकरण परिचालन गरेको छ।
आपत्कालीन उद्धार तथा सहयोगका लागि सरकारले जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।