
कुराकानी । जेन–जी आन्दोलनको नाममा सडकमा उत्रिएको हजारौंको भीडले सोमबार संघीय संसद भवन कब्जा गरी आगजनी गरेको छ।
सुरक्षाकर्मीहरूले प्रहार गरेका गोली, अश्रुग्याँस र रबरका गोलीको प्रभाव नपारी भीड संसद भवनभित्र प्रवेश गरेको हो। सबै सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू भवनमा पसेपछि राज्य संयन्त्र पूर्ण रूपमा ध्वस्त भएको र देश कब्जाको स्थितिमा पुगेको सरोकारवालाहरूले जनाएका छन्।
उनीहरूले मन्त्रीका घर, पार्टी मुख्यालय, पाँचतारे होटल र मन्त्री क्वाटरमा समेत आगजनी गरेका थिए। त्यसपछि अन्ततः संसद भवनलाई मुख्य निशाना बनाउँदै भीड भवनभित्र प्रवेश गरेको हो।
भवनभित्रको दृश्य अभूतपूर्व र अराजक देखिएको छ। सांसदहरू बस्ने कुर्सीमा प्रदर्शनकारीहरू बसेर नाराबाजी गरिरहेका छन्। सभामुख बस्ने रोस्ट्रमदेखि भवनका हरेक कुनामा युवाहरूको नियन्त्रण कायम छ। तोडफोड भइरहेको छ भने राज्यशक्तिको प्रतीक मानिएका संरचना ध्वस्त पारिँदैछन्।
सुरक्षाकर्मीहरू पछि हटेका छन्। आकाशमा सेनाका हेलिकप्टर तैनाथ भए पनि भुइँमा राज्यको नियन्त्रण शून्य बनेको छ।
१९ युवाको मृत्युबाट सुरु भएको आन्दोलन २४ घण्टा नबित्दै सिंगो राज्य संयन्त्रलाई घुँडा टेकाउने स्थितिमा पुगेको हो। देश कुन दिशामा अघि बढ्छ र यो अराजकतापूर्ण अवस्थाको अन्त्य कसरी हुन्छ भन्ने यतिबेला पूर्ण रूपमा अनिश्चित बनेको छ।