
कुराकानी । एक खुट्टाले नृत्य र मोडलिङ् गरेर सबैलाई चकित बनाएकी सीता सुवेदी अब यस दुनियाँमा रहिनन् ।
उनको ४० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ ।
उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार नै गरिने भएको छ ।
उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन् । क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्य लयातमा स्वर्ण पदक विजेता थिइन् ।
उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।
शास्त्रीय नृत्य कथककी नृत्याङ्गना
सीता सुवेदी शास्त्रीय नृत्य ‘कथक’को नृत्याङ्गना थिईन् । कथकमा हात तथा खुट्टाको सर्वाधिक प्रयोग गरिन्छ।
१२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण उनको एक खुट्टा नै गुमाउन पुगेकी थिइन् । यद्यपि, उनको प्रतिभाले भने कहिल्यै बाहाना खोजेन।
उनलाई आफूसँग एउटा मात्रै खुट्टा छ भन्ने जस्तो पटक्कै लाग्दैथ्यो । उनले त एउटा खुट्टाबाटै विश्वसामु आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी थिइन् ।
नेपालमा मात्रै हैन, विश्वमै एक खुट्टाले कथक नृत्य गर्ने एक्लो नृत्याङ्गना थिईन् । जसलाई अब हामी सम्झनामा मात्रै जिवित राख्न सक्छौं ।
३२ लक्षणले युक्त नभएकालाई कथक सिकाइनु पाप मानिन्थ्यो र अहिले पनि मानिन्छ । महाभारत र कृष्णसँग जोडिएको कथा भएकाले भारतमा झनै ३२ लक्षण नभएकाहरू कथक नाच्नु त परको कुरा, उनीहरूलाई नृत्य सिकाइनु समेत पाप मानिन्छ। जसले गर्दा नृत्य सिक्ने क्रममा भोगेका तितो र निमठो अनुभवलाई पन्छाएर उनि अगाडी बढेकी थिइन् ।
बोनम्यारो क्यान्सरले देब्रे खुट्टा लग्यो अनि फोक्सोको क्यानसरले ज्यान
चितवन मेघौलीकी सीता सानैदेखि चञ्चले थिइन्। गीत गाउन र नाच्न खुबै मनपर्ने। प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने भएकाले विद्यालयमा उनको पर्खाइ सधैं शुक्रबारकै हुन्थ्यो। सीता आफैंले गीत लेख्ने, सङ्गीत भर्ने, गाउने र नाच्ने गरेर पुरस्कार जित्थिन्।
नाच्ने क्रममै एक पटक उनको देब्रे खुट्टाको घुँडाभन्दा तल हल्का सुन्नियो। अभिभावकले धेरै चिकित्सकलाई देखाए पनि। तर समस्या नै पत्ता लागेन।
सबैको औंलो भरतपुर क्यान्सर अस्पतालतिर सोझियो। क्यान्सर अस्पतालमा खुट्टाको हड्डी निकालेर परीक्षण गर्दा थाहा भयो- उनलाई बोनम्यारो क्यान्सर भएछ। सीता त्यति बेला १२ वर्षकी थिइन्।
चिकित्सकले देब्रे खुट्टा काटेर फाले मात्रै क्यान्सरबाट छुटकारा पाउने बताए। सानो उमेरकी सीता छाँगाबाट खसे जस्तै भइन्।
उनलाई अकालमा मर्न मन थिएन। त्यसैले ०५७ सालमा उनको देब्रे खुट्टा काटेर फालियो। खुट्टा काटेपछि नाच्न पाइँदैन भन्ने सीतालाई थाहा थियो। त्यसैले काट्ने अघिल्लो दिन उनी अघाउने गरी नाचेकी सीताले अव कहिल्यै नाच्न पाउने छैनन् । फोक्सोको क्यान्सरले उनको नाच कहिल्यै देख्न नपाईने बनाईदियो ।
उकेरा डटकममा कार्यरत रहँदा उनै सीता सुवेदीसँग लामो समय विताउने मौका मिलेको थियो । त्यो समयमा फेरि भेट्ने वाचा गरेको हामीले उनिसँग समय मिलाउन सकिरहेका थियौं ।
पछिल्लो समय भिडियोमा कुराकानी गर्ने कुरा हुँदैगर्दा उनि त्यो वाचा अपुरो छाडेर गएकी छिन् । भौतिक शरीर हामीमाझ नरहेपनि सम्झनामा सधैं रहनुहुनेछ ।
कुराकानी परिवारको तर्फवाट हार्दिक श्रद्धान्जली सीता सुवेदी !