
कुराकानी । सुकेको ठुटोमा रुखो स्वर बोकार काँ काँ गर्ने कागलाई प्राय: मानिसले मन पराउने चरा अन्तर्गत राख्दैनन् । तर यसको धार्मिक महत्वलाई लिएर वर्षको एक दिन भने पुज्ने चलन छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ ।
यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ । त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।
यहाँ कागको ठूलो मूर्ति बनाइएको छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ ।
यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ ।
यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो ।
यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
काग बातावरणीय सन्तुलनका लागि नभई नहुने चरा हो । पहिले काम मगरेको कमै देखिन्थे । तर अहिले हरेक पोलमा राखिएका विजुलीका तारहरुमा करेन्ट लागेर झुण्डिरहेका देखिन्छन् ।
जंगलको अभावमा काम विजुलीका पोलमा बस्न बाध्य छन् । विजुली सट हुँदा करेन्ट लागेर सय वर्ष बाँच्ने चराले अकालमा मर्न परिरहेको छ । रातभर बल्ने पोलका उज्यालोले पनि यी र यस्ता पन्छीलाई खतरा रहेको बातावरण विद्हरु बताउँछन् ।