
कुराकानी । घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिएर आज कुकुर तिहार मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।
वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
अचेल हाई ब्रिडका कुकुर पाल्ने सोख ह्वात्तै बढेको छ । सुरुमा क्युट देखेर र रहरले घरमा ल्याइएका कुकुर बिस्तारै स्याहार सुसारको कमी, महंगा खाना लगायतले विरामी पर्ने र उपचार महंगो भन्दै सडकमा ल्याएर छाडिदिने चलन बढ्दै गएको हो ।
त्यस्ता कुकुरहरुलाई विभिन्न सेल्टरहोमहरुले उद्धार गरेतापनि सडकमा रहेका कुकुरलाई हेर्ने नजर सुधारमा अझै सुधार आएका छैनन् ।
तातो पानी फ्याँकिदिने, आँखा फोडिदिने जस्ता अमानविय ब्यवहार मात्रै हैन बोरामा हालेर कुटीकुटी कुकुर मारेका भिडियो पनि सामाजिक सञ्जालमा गएको वर्ष भाइरल बनेको थियो । यो धर्ति र समाज जति मानिसका लागि हो त्यति कुकुर लगायत अन्य जीव जनावरको पनि हो । यति सानो कुरा सकेत स्वीकार्न नसक्ने मानिसलाई पनि कुकुर तिहारको शुभकामना !