कुराकानी । आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण बनाउने उद्देश्यसहित नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न आवेदन आह्वान गरेको छ। प्रहरीका अनुसार आवेदन शुक्रबारदेखि माघ १ गतेसम्म दिन सकिनेछ र सार्वजनिक बिदाका दिन पनि फारम बुझाउन पाइनेछ। इच्छुक उम्मेदवारले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर र अन्य सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिन र बुझाउन सक्नेछन्।
निर्वाचन प्रहरी बन्नका लागि उम्मेदवारले फारम दर्ता गर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु आवश्यक छ। यस अनुसार, जन्ममिति वि.सं. २०२८/१०/०१ देखि २०६४/१०/०१ बीच पर्ने व्यक्तिले आवेदन दिन सक्नेछन्। यसका साथै उम्मेदवारले साधारण लेखपढ गर्न सक्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, मानसिक तथा शारीरिक रूपमा स्वस्थ रहेको र आतंककारी वा विध्वंसात्मक संगठनसँग कुनै सम्बन्ध नरहेको हुनुपर्नेछ।
निर्वाचन प्रहरीको लागि शारीरिक मापदण्ड पनि अनिवार्य गरिएको छ। पुरुष उम्मेदवारको हकमा कम्तीमा पाँच फिट उचाइ, छाती ३१–३३ इन्च र तौल ५० किलो हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा कम्तीमा चार फिट १० इन्च उचाइ र तौल ४२ किलो हुनुपर्ने उल्लेख छ।
निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनका लागि हुने जनाएको छ। यस अवधिभर तलब दैनिक ८६९ रुपैयाँ रहनेछ र ४० दिनको कुल तलब ३४ हजार ७७६ रुपैयाँ हुनेछ। खाद्यान्न खर्च सरकारद्वारा व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ भने तयारी खर्च एकपटकको लागि ८४६ रुपैयाँ प्रदान गरिनेछ। खाजा खर्च प्रतिदिन ३०० रुपैयाँको दरले चार दिनका लागि एकमुष्ट १२०० रुपैयाँ दिइने व्यवस्था गरिएको छ।