आक्रमकताबाट जिम्मेवारीतर्फ : रवि लामिछानेको नयाँ राजनीतिक टोन

आक्रमकताबाट जिम्मेवारीतर्फ : रवि लामिछानेको नयाँ राजनीतिक टोन

चुनावअघि उत्तेजना र आक्रामक अभिव्यक्तिका लागि चर्चित रवि लामिछाने नयाँ सासंदहरुलाई अभिमुखिकरण कार्यक्रममा निकै जिम्मेवार देखिएका छन् ।

  • कुराकानी

  • बुधबार, चैत्र ४, २०८२

  • 1
    SHARES
आक्रमकताबाट जिम्मेवारीतर्फ : रवि लामिछानेको नयाँ राजनीतिक टोन

कुराकानी । चुनावअघि उत्तेजना र आक्रामक अभिव्यक्तिका लागि चर्चित रवि लामिछाने नयाँ सासंदहरुलाई अभिमुखिकरण कार्यक्रममा निकै जिम्मेवार देखिएका छन् ।
झन्डै दुई तिहाइ नजिकको बहुमतपछि उनि अहिले संयमित र जिम्मेवार सुनिन थालेका हुन् ।

चुनावअघिका भाषणहरूमा लामिछानेले मतदातालाई भावनात्मक रूपमा उक्साउने शैली अपनाएका थिए। पत्रकारहरूसँगको संवादमा समेत उनी आक्रामक देखिन्थे। तर सत्ता नजिक पुगेपछि उनको भाषा र व्यवहारमा आएको परिवर्तनले नयाँ राजनीतिक रणनीतिको संकेत दिएको छ।

ग्वार्कोमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा लामिछानेको नयाँ रूप प्रस्ट देखिएको हो । पार्टी सभापतिका रूपमा उनले राष्ट्रिय जीवनका विभिन्न क्षेत्र—निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र लगानीकर्तालाई विश्वास दिलाउने प्रयास गरे।

उनले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सामाजिक सञ्जालमा देखिने आक्रामकता त्याग्न स्पष्ट निर्देशन दिएका छन्। विपक्षीप्रति तुच्छ टिप्पणी नगर्न र सभ्य राजनीतिक संस्कार अपनाउन उनले जोड दिए।

लामिछानेको सबैभन्दा बलियो सन्देश आफ्नै सांसदहरूतर्फ केन्द्रित थियो। उनले सांसदहरूलाई “जनताको शासक होइन, सेवक” बन्न आग्रह गरे। अझ, जनताकै जस्तो जीवनशैली अपनाउन र सकभर सरकारी अस्पतालमै उपचार गर्न सुझाउँदै उनले व्यवहारमै परिवर्तन देखाउन दबाब दिए।

उनले अन्य दल—कांग्रेस, एमाले र माओवादी—को नाम नलिई उनीहरूको ऐतिहासिक योगदानको प्रशंसा गरे। “इतिहासलाई धन्यवाद, भविष्यको जिम्मा हामी लिन्छौं” भन्ने सन्देशमार्फत उनले नयाँ राजनीतिक दाबी प्रस्तुत गरे।

पार्टीभित्र स्वतन्त्रता र अनुशासन सँगसँगै जानुपर्ने बताउँदै लामिछानेले “राइट टु रिकल” कडाइका साथ लागू गर्ने संकेत दिएका छन्। मन्त्री बन्ने दौडबाट टाढा रहन, स्वार्थ समूहहरूको प्रभावबाट सचेत हुन र व्यक्तिगत स्वतन्त्रताको दायरा सीमित गर्न उनले सांसदहरूलाई निर्देशन दिएका छन्।

उनले सत्ता प्राप्तिपछि आउने चुनौतीबारे पनि सचेत गराए—सरकार बनेकै दिनदेखि त्यसलाई ढाल्ने प्रयास सुरु हुने अनुभव सुनाउँदै उनले सतर्कता अपनाउन आग्रह गरे।
कार्यक्रममा बालेन शाहको अनुपस्थिति भने चर्चा र जिज्ञासाको विषय बनेको छ। स्वास्थ्यलाभ गरिरहेको जानकारी पार्टीले दिए पनि, सामाजिक सञ्जालमा सक्रिय देखिएका बालेन महत्वपूर्ण बैठकमा किन अनुपस्थित भए भन्ने प्रश्न उठेको छ।

उनको नाममा सिट समेत आरक्षित गरिए पनि कार्यक्रममा उपस्थिति नभएको तथ्यले पार्टीभित्रको समन्वय र भूमिका बाँडफाँटबारे थप चासो बढाएको छ।

सत्ताको उचाइसँगै राजनीतिक शैली बदलिँदै जाँदा रवि लामिछानेले आफ्ना सांसद र समर्थकमाझ प्रस्तुत गरेका १० सन्देशले केवल निर्देशन मात्र होइन, नयाँ राजनीतिक भाष्य निर्माण गर्ने प्रयास झल्काउँछन्। ती सन्देशहरूमा पुरानो अभ्यासको अस्वीकारदेखि नयाँ मूल्य र अनुशासनको मागसम्मका स्पष्ट संकेत छन्।

रविको भाषणका १० बुँदे निर्देशन

१. पुरानो राजनीतिबाट दूरीको घोषणा

लामिछानेको पहिलो सन्देश स्पष्ट छ—अब राजनीति हिजोको जस्तो चल्दैन। सत्ता केन्द्रित चलखेल, गुटबन्दी र बिचौलियाको प्रभावलाई अस्वीकार गर्दै उनले आफ्नो दललाई ‘परम्परागत निरन्तरता होइन, विकल्प’का रूपमा पुनः स्थापित गर्न खोजेका छन्।

२. सांसदको भूमिकामा सैद्धान्तिक पुनर्परिभाषा

नेपालमा सांसदलाई विकास निर्माणका ठेकेदारजस्तै बुझ्ने प्रवृत्तिबीच उनले ‘कानुन निर्माण नै मूल काम’ हो भन्ने सन्देश दिएका छन्। यसले लोकप्रिय नाराभन्दा नीति निर्माणमा केन्द्रित हुने संकेत दिन्छ।

३. ‘राइट टु रिकल’ : अनुशासनको औजार

‘राइट टु रिकल’लाई उनले केवल कानुनी व्यवस्था होइन, अनुशासन कायम गर्ने औजारका रूपमा अघि सारेका छन्। बहुमतको बलमा ढिलासुस्ती होइन, झन् बढी उत्तरदायित्व चाहिन्छ भन्ने सन्देश यसमा छ।

४. व्यक्तिगत चाहनाबाट राष्ट्रिय जिम्मेवारीतर्फ

“म होइन, देश” भन्ने मूल भावसहित उनले सांसदहरूलाई पद र शक्तिको लालसाबाट टाढा रहन आग्रह गरेका छन्। यो सन्देश अप्रत्यक्ष रूपमा बालेन शाह जस्ता नेतृत्वतर्फ पनि लक्षित देखिन्छ, जहाँ व्यक्तिगत आकांक्षाभन्दा सामूहिक लक्ष्य प्राथमिक हुनुपर्छ।

५. अभिव्यक्तिमा संयमता र कूटनीतिक चेतना

विगतमा ‘भाइरल’ हुने शैलीप्रति संकेत गर्दै उनले अब सार्वजनिक अभिव्यक्ति संयमित र जिम्मेवार हुनुपर्ने बताएका छन्। विशेषगरी परराष्ट्र र अर्थतन्त्रमा हल्का टिप्पणीले दीर्घकालीन असर पार्न सक्ने चेतावनीले नयाँ संवेदनशीलता देखाउँछ।

६. काम बोलोस्, अनुहार होइन

राजनीतिमा चर्चित अनुहारभन्दा काम गर्ने विज्ञलाई प्राथमिकता दिनुपर्ने सन्देश उनले दिएका छन्। यसले दलभित्र ‘टिम वर्क’ र समान अवसरको संस्कार विकास गर्न खोजेको देखिन्छ।

७. इतिहासप्रति सम्मान, वर्तमानमा सहिष्णुता

पुराना दलहरूको योगदानलाई स्वीकार गर्दै उनले ध्रुवीकरण घटाउने प्रयास गरेका छन्। समर्थकहरूलाई असहिष्णु नबन्न दिएको निर्देशनले मध्यमार्गी लोकतान्त्रिक छवि बनाउन खोजिएको संकेत गर्छ।

८. विकासको नयाँ परिभाषा

भौतिक पूर्वाधारभन्दा ‘सामाजिक न्याय’लाई विकासको केन्द्रमा राख्ने धारणा प्रस्तुत गर्दै उनले क्षेत्रीय असमानता—विशेषगरी कर्णाली र मधेस—लाई सम्बोधन गर्ने प्राथमिकता देखाएका छन्। समावेशिताप्रति सार्वजनिक प्रतिबद्धता पनि यसैसँग जोडिन्छ।

९. बाह्य जगत्‌लाई विश्वास दिलाउने प्रयास

लामिछानेको सन्देश केवल आन्तरिक राजनीति होइन, निजी क्षेत्र, डायस्पोरा र अन्तर्राष्ट्रिय समुदायतर्फ पनि लक्षित छ। “नीतिले लगानी सुरक्षित गर्छ” भन्ने उनको भनाइले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखिएको संकेत दिन्छ।

१०. लोकतन्त्रप्रति प्रतिबद्धताको पुनः आश्वासन

दुई तिहाइ नजिकको शक्तिले अधिनायकवादको आशंका बढाउने बेला उनले त्यसलाई अस्वीकार गर्दै “हामीले सावधानीपूर्वक सम्हाल्छौं” भन्ने सन्देश दिएका छन्। यसले सुशासन र संस्थागत रूपान्तरणको वाचा पनि सँगै बोकेको छ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology