फिल्म समीक्षा

फिल्मको कथालाई नै राम नाम सत्य !

फिल्मको कथालाई नै राम नाम सत्य !

जब हामी फिल्मका दृष्यमा इमोसनल रुपमा कनेक्ट नै हुन सक्दैनौं, त्यसमा जति नै ध्वाँसु सिन भएपनि मज्जा आउँदैन ।

  • पुष्पा थपलिया

  • सोमवार, चैत्र ३०, २०८२

  • 14
    SHARES

कुराकानी । के तपाईंलाई थाहा छ, नेपालका हिरोहरू कहिल्यै बुढो हुँदैनन्? मेरो विश्वास लागेको छैन भने तपाईं यतिखेर नेपालभरका हलहरूमा चलिरहेको फिल्म राम नाम सत्य हेर्न जान सक्नुहुन्छ।

जसमा नायक बिराज भट्टले आफु भन्दा आधा भन्दा नि कम उमेरका दुई जना युवतीहरुसँग रोमान्स गरेका छन् । यो कुरामा सत्यता देख्नुभएको छैन भने नजिकको सिनेमा हलमा गएर फिल्म हेर्नुस् । अनि कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला ।

कथाबस्तु
मानवीय स्वभाव हो, हामीलाई एक्सन मन पर्छ। त्यसैले त हामी सुतिसुती झगडा गरेको, काटमार गरेको भिडियोहरू, रिलहरू हेरिरहेका हुन्छौ।

अहिले पनि तपाईले आफ्नो फिडमा देखिरहनुभएको होला। एकजना युवाले दुइजना युवालाई चक्कु प्रहार गरेर मारे। विभिन्न एंगल-एंगलबाट खिचेका भिडियोहरू यतिखेर भाइरल भइरहेका छन्। पक्ष-विपक्षमा भीड छ।

मज्जासँग सुतिसुती ओछ्यानमा बसेर फ्रीमा तपाईले एक्सनका कन्टेन्टहरू हेर्न पाइरहनुभएको छ। त्यो पनि अझ कुनै एक्सन कट गरेर बनाइएको होइन, रियल वाला। यस्ता भिडियोहरू तपाईले डार्क वेबसाइटहरुमा गएर हेर्नुभयो भने त अनगिन्ती पाउनुहुन्छ।

यो सबै हातमै छ भने हलमा एक्सन मुभी किन त? यो प्रश्न जति पनि एक्सन फिल्म मेकरहरू छन् उनीहरूका लागि हो।

यो फिल्मको कथा पनि बदलाको हो । एउटा घटना घट्छ र त्यो घटनालाई न्याय दिन अगुवा भन्ने पात्र छ, उ लागि पर्छ। उसले मान्छे यति मार्छ, यति मार्छ, डायलग

बोल्दै मान्छे मार्छ। र अन्तिममा आफ्नो सफलता प्राप्त गर्नलाई उ सफल हुन्छ कि हुँदैन? फिल्म यही नै हो।

समग्रमा भन्ने हो भने, नेपालमा जति पनि एक्सन मुभी बन्छन् प्रायको कथा यस्तै नै हुन्छ। कुनैमा छोरी चेली श्रीमती आमा बलात्कारमा परेका हुन्छन्, कुनै गर्भवती हुँदाखेरि मारिएका हुन्छन्। कसैलाई के हुन्छ, कसैलाई के हुन्छ। एउटा घटना घट्छ र त्यही घटनाको फ्रेममा रहेर चाहिँ फिल्म अगाडि बढ्छ। यो फिल्मको कथा नै त्यस्तै खालको छ।

तर यसमा कथा त छ, तर छ कि छैन पत्ता लगाउनै मुस्किल पर्छ । किनभने यसको पहिलो हाफसम्म बिना कारण हिरोले मान्छेलाई मारिरहेको हुन्छन्।

बाटोमा हिँडिरहेको मान्छेलाई एउटाले आएर पङ्गापङ् गरेर ठोक्छ भने तपाईको दाया मान्छेलाई ठोक्ने प्रति हुन्छ कि कुटाई खाने प्रति? पक्कै पनि कुटाई खाने प्रति हुन्छ। बिना कारण हिरोले गएर डाङकाड्याङ पारेर पिटिरहेको छ। त्यसको कारण दोस्रो हाफमा खुल्छ। तर कारण नै एकदमै सानो छ । त्यत्रो बबण्डर मचाउनुपर्ने कारण नै छैन। कथालाई स्थापित नै गर्न सकेको छैन ।

देखाउन खोजेको के हो? राम नाम सत्य, यसको शीर्षक सार्थकता कहाँ छ? के मान्छे मारेर राम नाम सत्य र घण्टीको थप्पा लाउँदैमा त्यो फिल्मको शीर्षक सार्थकता हुन्छ त? तपाईलाई के लाग्छ? मलाई त हुन्छ जस्तो लाग्दैन।

हामीलाई स्कुलमा शीर्षक सार्थकता भन्ने पाठ पनि पढाउँछ के। त्यस्तो बेलामा कसरी कसरी त्यो शीर्षक सार्थकता छ भनेर हामीले लेख्नुपर्ने हुन्छ। यो फिल्ममा त मैले कुनै एंगलबाट शीर्षक सार्थकता देख्दिनँ।

त्यसैगरी यसमा हिरोहरू छपक्कै छन्। तर तिनीहरू के को लागि? भिलेन भन्दा धेरै त हिरो नै छ तर पावरफूल त भिलेन हुनुपर्ने नि हैन। यहाँ त भिलेन पावरफूल नै छैन। बुढो छ एउटा, एउटा एक्सन नजानेको छ, एउटा चिच्याउन मात्रै जानेको छ। तीनजना भिलेनहरू।

अनि अर्को चाहिँ यता हिरोहरू छन्, पुरा सिक्स प्याक निस्केका, भर्खर भर्खरका जवानहरू ! कसरी मिल्यो त कुरा? मिलेन नि हैन।

फिल्मका सकारात्मक पक्ष
फिल्मको यति धेरै नराम्रो पक्षहरूको कुरा गरेपनि यसमा सबै नराम्रो भन्ने चाहिँ होइन है। केही कुराहरू राम्रा पनि छन्। जस्तो यसको ब्याकग्राउण्ड म्युजिक बबाल छ। नेक्स्ट लेभल। नेपालमा त्यत्तिको ब्याकग्राउण्ड म्युजिक क्रिएट हुनु भनेको ठुलो कुरा हो।

जुन अन्तिममा त्यसको जुन सुदुरपश्चिमको देउडाको लयमा त्यहाँ ब्याकग्राउन्डमा बज्छ नि, बबाल छ त्यो। त्यसैगरी जुन ड्रेस डिजाइनमा उनीहरूले काम गरेका छन्, त्यो पनि राम्रो लाग्यो।

तर यहाँनेर छुट्याउनलाई गाह्रो चाहिँ यो कुन समयको कथा हो? त्यहाँ लेख्न त हाम्रो हिरोइन २०५७/५८ सालमा जन्मेको भनेर लेखेको छ भनेपछि त्यो अहिलेकै कथा हो। स्मार्ट फोन चलाउँछन्, यता उता गर्छन्। सबै हेर्दाखेरि अहिलेकै कथा हो।

तर त्यहाँको जुन संसार सिर्जना गरिएको छ नि, त्यो अहिलेको जस्तो लाग्दै लाग्दैन। अनि हामी त्यो सिने संसारमा प्रवेश गर्नै सक्दैनौँ । अहिलेको हो जस्तो पनि लाग्छ, अहिलेको होइन जस्तो पनि लाग्छ, अनि त पेन्डुलम भइहाल्छ नि।

त्यही त हामी राम्रो कुरा गरिरहेथ्यौँ। फिल्ममा भएका गीतहरु मध्ये दुईवटा गीत छन्, त्यो पनि एकदमै गज्जबको छ, राम्रो छ। फिल्मका केही फाइट सिक्वेन्सहरू राम्रा छन् तर त्यसको पनि कुरा उही।

फिल्मका नकारात्मक पक्ष
जब हामी फिल्मका दृष्यमा इमोसनल रुपमा कनेक्ट नै हुन सक्दैनौं, त्यसमा जति नै ध्वाँसु सिन भएपनि मज्जा आउँदैन । आउटडोर, इन्डोर सबै खालका फाइटरहरु छन्। सेटहरु त्यस्तै बबाल छ, तर पनि त्यही हो। जब गुदी कुरै छैन भने केही पनि कामै लागेन। कथा नै छैन फिल्ममा।

फिल्ममा कथाको जग नै एकदम फितलो छ। पटकथा स्ट्याब्लिस हुन सक्दैन। अझ अन्तिमको अन्त्य पनि त्यस्तै खालको छ। गर्न खोजेको के हो? केही बुझ्न सक्दिनँ। हुन त पार्ट टु बनाउनलाई अहिले पार्ट वान पुरै सस्पेन्समा राखेको होला।

तपाईले कुनै मान्छेलाई मार्दिनुभयो तर त्यो मान्छे चाहिँ तपाईको अगाडि जिउँदै फर्केर आयो भनेपछि तपाईको केही न केही भाव त देखिन्छ होला नि। तर केही पनि छैन। केही दियो भने त कथा रिभिल हुने भयो नि त, हैन?

मैले नबुझेको कुरै यही हो। फिल्म सस्पेन्स राख्नुको मतलब चाहिँ गुपचुप पारेर कतिपनि कथा बाहिर निस्कने नदिनु भन्ने त होइन होला नि त। सस्पेन्स भनेको त अडियन्सलाई विभिन्न कुराहरु मनमा खेलाउँदै, खेलाउँदै, अब यस्तो हुन्छ, अब यस्तो हुन्छ भन्दै बनाउँदै, बनाउँदै लास्टमा गएर दर्शकले सोचेको इन्डिङ नभईकन अर्को इन्डिङ हुनु हो।

त्यसैगरी अर्को छ भाषा। भाषामा एकरुपता छैन र डायलगहरु पनि एकदमै फितलो छ। एउटा अन्तिममा छ डायलग जुन चाहिँ आयुषले बोलेको छ। ‘म पर्दा पछाडिको होइन, पर्दा हो’ भन्ने वाला एउटा त्यस्तै, त्यस्तै खालको डायलग छ। त्यो एउटा डायलग चाहिँ मलाई राम्रो लाग्यो।

अरु डायलगहरु त यत्तिकै क्या! ठूलोठूलो कुरा गरेको छ, पिटेको छ। अनि हरेक पिटाईपछि एउटा डायलग बोलेको छ, ब्याकग्राउन्ड डिउडिङ डिउडिङ डिउडिङ आएको छ। त्यो बाहेक अरु केही पनि छैन। संवादहरुमा कामै भएको छैन।

समग्रमा भन्ने हो भने, यदि तपाई विराज भट्टको फ्यान हुनुहुन्छ भने फिल्म हेर्नुस् । सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, दिव्या रायमाझी, खुशि कार्की, सुपुष्पा भट्ट लगायतका कलाकार मन पर्छ भनेपनि फिल्म नछुटाउनुस् । सम्झनामा पुगेका कलाकार सुनिल थापा, शक्तिशाली खलपात्रका कालाकारहरु प्रसान्त ताम्राकार, कनिज कोइराला लगायतको अभिनय हेर्न मनपर्छ भनेपनि हलमा दौडिहाल्नुस् ।

अनि यदि तपाईलाई एक्सनमा पनि कथा, इमोसन केही नभईकन, डाङका डाङ पिटेको, ठोकेको मात्रै हेर्न मनपर्छ भने पनि यो फिल्म तपाईले नछुटाउनुहोला।

 


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology