कुराकानी। सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा पुनरुत्थानका कार्यक्रम अघि बढाउनेदेखि जेन्जी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
संवत् २०८३ भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।
बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णय भएको छ।
भोटेकोशी बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। उद्धारका क्रममा घाइते भए निःशुल्क उपचार तथा मृत्यु भए मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
सरकारले भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यस्तै, भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय भएको छ। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा, समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने निर्णयसमेत गरेको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।