कुराकानी। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा निजी तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले जिल्लाका सरकारी तथा सार्वजनिक भवनदेखि निजी घर, सडक, पुल, विद्यालय, बैंक तथा जलविद्युत् आयोजनासम्ममा व्यापक क्षति पुर्याएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ वटा सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको छ। त्यस्तै ८ वटा सामुदायिक विद्यालय र ३ वटा निजी विद्यालय प्रभावित भएका छन्। बाढीले १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र करिब १ हजार ५ सय निजी घरमा समेत क्षति पुर्याएको प्रारम्भिक विवरणमा उल्लेख छ।
बाढीले रसुवाको यातायात पूर्वाधारमा पनि ठूलो असर गरेको छ। जिल्लामा ४१ किलोमिटर सडक बाढीले बगाएको छ भने ६ वटा पक्की पुल, ८ वटा बेलिब्रिज र १० वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। यसका कारण जिल्लाका विभिन्न क्षेत्रबीचको आवागमन प्रभावित भएको छ।
भोटेकोशी, त्रिशूली नदी तथा लाङ्टाङ खोलामा निर्माण भएका जलविद्युत् आयोजनाहरूमा समेत बाढीले ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ८ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुगेको छ।
बाढीबाट १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ प्रभावित भएका छन्।
सुरुङमा फसेकाको खोजी जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू फसेको आशंकामा खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली उद्धारमा खटिएका छन्। थप सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञहरूलाई समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
बाढीपछि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। प्रारम्भिक विवरणअनुसार १ हजार ३६५ रसुवाली नागरिक, अन्य जिल्लाका १ हजार १६० नागरिक र २६४ पर्यटक सम्पर्कविहीन छन्।
त्यस्तै बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेनाका सदस्यसमेत हराइरहेको विवरण सार्वजनिक गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन हेलिकप्टरमार्फत राहत वितरण भइरहेको जिल्ला प्रशासनले जनाएको छ। उद्धार तथा राहतसँगै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि भइरहेको छ।
भोटेकोशी बाढीले रसुवामा मानवीय क्षतिसँगै सडक, पुल, घर, विद्यालय, सरकारी संरचना र जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएपछि जिल्लाको पुनःस्थापना र पुनर्निर्माण चुनौतीपूर्ण हुने देखिएको छ। अहिले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखिएको छ।