फोटो

जब रातभर थिमीका गल्लीमा भैरव जाग्छन्!

जब रातभर थिमीका गल्लीमा भैरव जाग्छन्!

परम्परागत बाजाका धुन सुनिन थाले। संगीतको तालसँगै मुखौटामा सजिएका भैरव र दायगीहरू देखापरे।

  • कृष्पा श्रेष्ठ

  • बुधबार, भदौ १७, २०८३

  • 14
    SHARES
जब रातभर थिमीका गल्लीमा भैरव जाग्छन्!

कुराकानी । रात गहिरिँदै थियो। थिमीका पुराना गल्लीहरूमा मानिसहरूको भीड बाक्लिँदै थियो। कतै घरका झ्यालबाट चियाउँदै गरेका आँखा, कतै हातमा मोबाइल र क्यामेरा बोकेर उभिएका युवा। वातावरणमा उत्सुकता थियो। आज फेरि लाय्कु भैलः निस्कँदै थियो।

केहीबेरमै परम्परागत बाजाका धुन सुनिन थाले। धाँ, भुस्या र पुँगाको आवाजसँगै गल्लीको माहोल फेरियो। संगीतको तालसँगै मुखौटामा सजिएका भैरव र दायगीहरू देखापरे।

यो केवल नाच थिएन।

यो थिमीको पुस्तौँ पुरानो विश्वास, संस्कार र सांस्कृतिक स्मृतिको एउटा जीवित दृश्य थियो।

लाय्कु भैलःलाई मध्यपुर थिमिको महत्वपूर्ण परम्परागत तान्त्रिक नाचका रूपमा लिइन्छ। परम्पराअनुसार नाचमा दुई भैरव, दुई दायगी र एक ज्यापुगचा गरी पाँच देवगण सहभागी हुन्छन्।

मुखौटाभित्र लुकेका अनुहार देखिँदैनन्। तर उनीहरूको हाउभाउ, शरीरको कम्पन र नाचको तीव्रताले भीडलाई एकटक बनाइरहन्छ।

बाजाको ताल बढ्दै जाँदा नाच पनि बदलिन्छ।

कहिले बिस्तारै अघि बढ्ने पाइला, कहिले अचानक तीव्र हुने चाल। वरिपरि उभिएको भीड भने मौनजस्तै भएर त्यो दृश्य नियालिरहेको हुन्छ। कसैका लागि यो धार्मिक आस्था हो, कसैका लागि पुर्खाले छाडेको परम्परा र नयाँ पुस्ताका लागि आफ्नै सहरको पहिचान।

मध्यपुर थिमि ऐतिहासिक कला, संस्कृति र शिल्पकारिताका लागि परिचित सहर हो। यहाँ भैलः प्याखँ, महाकाली नाच, नीलबाराही नाचलगायतका परम्परागत नाच र जात्राहरू आज पनि सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा छन्।

लाय्कुबाट सुरु हुने नाच विभिन्न टोल हुँदै अघि बढ्छ। परम्परागत रूपमा लाय्कु, दथुटोल, मरूटोल, बालकुमारीलगायतका क्षेत्र परिक्रमा गरी पुनः लाय्कुतर्फ फर्कने चलन रहेको उल्लेख पाइन्छ।

हेर्नुस् फोटोहरु


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology