कुराकानी । नेपाली चलचित्र क्षेत्रमा आजबाट फरक स्वादका दुई नयाँ फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फरक शैलीका कथावस्तु बोकेका यी दुवै फिल्मले नेपाली समाजको कथा भनेका छन् ।
प्रेमकथामा आधारित फिल्म ‘काजी’लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । काजी र कजिनीबीचको सम्बन्ध र भावनात्मक यात्रालाई केन्द्रमा राखिएको यस फिल्ममा विपीन कार्की र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन् । यसमा श्रीमतीलाई अत्याधिक विश्वास गर्ने काजी र केहि कुरा लुकाईरहेकी कजिनीका बारेमा कथा भनिएको छ ।
फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्धाजको कथामा बनेको यस फिल्मका निर्माता नेहान रिजाल र विकाशराज जोशी हुन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
यता, सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘मितज्यू’ जनक घर्ती मगरको निर्माण तथा अनिल बुढामगरको निर्देशनमा तयार भएको हो । ग्रामीण परिवेश र सम्बन्धको भावनात्मक कथा प्रस्तुत गरिएको यस फिल्ममा दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन् ।
चर्चित डान्सर तेरिया फौज मगरले पनि यही फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् । साथै, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायत कलाकारको अभिनयले फिल्मलाई थप बलियो बनाएको छ ।
फिल्मको छायांकन शिशिर बिशंखेले गरेका हुन् भने सम्पादन लोकेश बज्राचार्यले गरेका छन् ।