तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै

  • कुराकानी

  • मङ्लबार, जेष्ठ १२, २०८३

  • 8
    SHARES
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता हुँदै

कुराकानी । काठमाडौंमा “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण जेठ १४ र १५ गते हुने भएको छ । प्रतियोगितामा नेपाली र विदेशी आरोहीहरूले सहभागिता जनाउनेछन् ।

यो प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन (Inc) को संयुक्त आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक खेलको विकास गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे र एडमन हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरूले जेठ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल र गैरीधारास्थित नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट लिन सकिनेछ ।

प्रतियोगितामा पुरुष र महिला दुवै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवै समूहका विजेताले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार उद्घाटन कार्यक्रम जेठ १४ गते बिहान ९ बजे सुरु हुनेछ । कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्रमुख अतिथि रहनेछन् । यस्तै, फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा सहभागी हुनेछन् ।

हालसम्म २२ जना पुरुष र १० जना महिला आरोहीले नाम दर्ता गरिसकेका छन् । यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार यस वर्ष पहिलो पटक “लिड क्लाइम्बिङ” विधामा प्रतियोगिता हुन लागेको हो । अघिल्ला दुई संस्करण भने “टप–रोप क्लाइम्बिङ” मा मात्रै सीमित थिए ।

यो प्रतियोगिता सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमन हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजना गरिएको हो ।

आयोजकले प्रतियोगिताले नेपालमा बढ्दै गएको क्लाइम्बिङ संस्कृतिलाई थप प्रोत्साहन गर्ने र युवालाई साहसिक खेलतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology