फिफा विश्वकप: चेक रिपब्लिकमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

फिफा विश्वकप: चेक रिपब्लिकमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक पराजित हुन पुग्यो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाएका थिए।

  • कुराकानी

  • शुक्रबार, जेष्ठ २९, २०८३

  • 1
    SHARES
फिफा विश्वकप: चेक रिपब्लिकमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

कुराकानी। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक पराजित हुन पुग्यो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाएका थिए।

तर, चेक रिपब्लिकले उक्त अग्रतालाई लामो समय कायम राख्न सकेन। खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले गोल गर्दै खेललाई १–१ को बराबरी स्थितिमा ल्याए।

खेलको ७७औं मिनेटमा चेक रिपब्लिकका थोमस सुसेकले फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत गोलको दिशा दिएका थिए। तर, रेफ्रीले उक्त गोललाई अफसाइड मान्यता दिएका थिएनन्।

त्यसको तीन मिनेटपछि, खेलको ८०औं मिनेटमा ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई २–१ को निर्णायक अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि दक्षिण कोरिया विजयी भयो। दक्षिण कोरियाले दोस्रो हाफको १४ मिनेटभित्र दुई गोल फर्काउँदै जित सुनिश्चित गरेको हो।

यो जितसँगै दक्षिण कोरियाले विश्वकप इतिहासमा चेकिया (चेक रिपब्लिक) विरुद्ध पहिलो जित दर्ता गरेको छ। १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले विश्वकपको आफ्नो पहिलो खेलमा जित निकालेको यो चौथो पटक हो।

यस नतिजासँगै समूह ‘ए’ मा ३ अंक जोडेको दक्षिण कोरिया अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। समान ३ अंक रहेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। पराजित चेक रिपब्लिक तेस्रो र अंकविहीन दक्षिण अफ्रिका समूहको पुछारमा रहेका छन्।

सम्बन्धित समाचार
       © 2022 - 2026 to कुराकानी | Kurakani ,  All Rights Reserved.  Crafted by Bitcraft Technology